नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्

जनसम्मत
पौष ११, २०७९, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए।

नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्। तेस्रो पटक प्रधानमन्त्री भएका दाहाल यसअघि कोट, सट, पाइन्ट र टाइमा सजिएर जाने गर्दथे।

प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ। समारोहमा भाग लिन आउने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ–बायाँ बस्ने व्यवस्था मिलाइएको थियो।

समारोहमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

त्यसैगरी, विभिन्न समाचार माध्यमले शपथ ग्रहणको प्रत्यक्ष प्रसारण गरेका थिए।