८ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन

३ जना उपप्रधानमन्त्री, ४ विना विभागीय मन्त्री, राष्ट्रपतिसमक्ष सबै मन्त्रीद्वारा शपथ ग्रहण

जनसम्मत
पौष ११, २०७९, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन्।

यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन्। अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हालेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष हुन्।

यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खाँ पनि मन्त्रिपरिषद्मा सहभागी छन्। उनीहरूको जिम्मेवारी भने तोकिएको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिहरुलाई आज (सोमबार) शपथ ग्रहण गराएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिए। त्यस्तै, अन्य ७ जना मन्त्रीहरूले पनि शपथ लिए। प्रधानमन्त्रीमा दाहालले शपथ लिएपछि उपप्रधानमन्त्रीमा ३ जना र विना विभागीय मन्त्रीमा ४ जनाले पद तथा गोपनीयताको शपथ लिए।

राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिए।

त्यस्तै, विना विभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिए।