पोखरामा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

१२ इभेण्टमा २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउँदै

जनसम्मत
पौष ११, २०७९, सोमबार

पोखरामा बुधबारदेखि प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगिता हुँदैछ।

प्रतियोगिताको १२ इभेण्टमा २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउँदैछन्।

राष्ट्रिय प्रतियोगिताको लागि कास्की जिल्ला व्याडमिन्टन संघ अन्तिम तयारीमा जुटेको सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रतियोगितामा विभिन्न २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संघका सचिव फणिन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्टमा उपाधि प्रतिस्पर्धा हुनेछ।

उनका अनुसार प्रतियोगितामा यु–१९ विश्वका शीर्ष वरियताका प्रिन्स दाहाल, नेपालका शीर्ष वरियताकी नङ्सल तामाङसहितका खेलाडीहरु पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा उत्रनेछन्।

पोखरा आयोजना गरिएको यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो।

पुरुष एकल, पुरुष युगल, महिला एकल, महिला युगल, खुल्ला मिक्स युगल, यु १७ छात्र तथा छात्रा, यु १२ छात्र तथा छात्रा, ३५ वर्षमाथिको भेट्रान्स, ४५ वर्षमाथिको भेट्रान्स र ५५ वर्षमाथि उमेर समूहको भेट्रान्स इभेण्ट प्रतियोगितामा समेटिएको छ।

पुरुष एकल विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोस्थान प्राप्त गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन्। पुरुष युगल विजेताले ५०, ३० र २० हजार रुपैयाँको राशी प्राप्त गर्ने संघका कोषाध्यक्ष एवं अर्थ संयोजक मिन गुरुङले बताए।

महिला एकल र युगल विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताको हकमा २० हजार र तेस्रो स्थानमा रहने एकल र जोडीले पनि २० हजार रुपैयाँ नै प्राप्त गर्नेछन्। मिक्स इभेण्ट विजेताले पनि ३०, २० र २० हजार प्राप्त गर्नेछन्। यु १७ छात्र तथा छात्रा विजेताले १५, १० र १० हजार प्राप्त गर्ने संघले जनाएको छ। यु १२ छात्र तथा छात्राले पनि १५, १० र १० हजार नै पाउनेछन्।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीले ३०, २० र २० हजार रुपैयाँ पाउँदा ४५ वर्ष र ५५ वर्षमाथिको उमेर समूहको विजतो तथा उपविजेता र तेस्रो स्थानमा आउने खेलाडीहरुले पनि समान ३०, २० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।