२४ औं सडक महोत्सवको तयारी पूरा

‘सडकमै खाँउ सडकमै रमाउँ’, खाना संस्कृतिको प्रमोसन

जनसम्मत
पौष ११, २०७९, सोमबार

अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले हरेक वर्ष महोत्सव गर्दै आएको छ।

यही पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइडमा हुने २४ औं सडक महोत्सवको तयारी पूरा भएको छ।

यसपालि पनि सोहि मितिमा गर्न लागिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) लेकसाइडस्थित बसुन्धरापार्कमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।

रेवानका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्राण्डको रुपमा स्थापित भईसकेको सडक महोत्सव पुस १३ बाट १७ गतेसम्म ५ दिन ‘सडकमै खाँउ सडकमै रमाउँ’ भन्ने मूल नाराका साथ खाना संस्कृतिलाई प्रवद्र्धन गर्न लागिएको बताए।

‘हामी त आयोजक मात्रै हौं। पर्यटन क्षेत्रलाई चलायमान बनाउन हामी सबैको यसमा ठूलो योगदान छ’, अध्यक्ष भट्टराईले भने, अर्थतन्त्रको एउटा खम्बा पर्यटन भएकोले अप्ठ्यारो अवस्थामा पुगेको पर्यटनलाई केही भएपनि माथि उकास्न महोत्सवले सहयोग पुग्नेछ।’

रेबानले आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लेकसाइड फिष्टेल गेटदेखि खहरेचोक जरेबरसम्मको ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्न लागेको हो।

महोत्सवमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खानाका परिकारहरु रहनेछन्। सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, झाँकी प्रदर्शन, दोहोरी तथा साँझमा कन्सर्ट हुनेछ।

अध्यक्ष अट्टराईका अनुसार डिसेम्बर २९ तारिखमा अर्थात पुस १४ गते बिहान वेटर, वेट्रेस रेस हुने, सिडेम्बर ३०, पुस १५ गते बिहान १० वजे डुंगा दौड हुने र डिसेम्बर ३१ तारिख, पुस १६ गते दिउँसो १ वजे गौरीघाटमा ‘टग अफ वार’को तालिका छ।

यस्तै, कार्यक्रममा लाइभ व्याण्डको प्रस्तुतिमा अनुप्रस्थ, कववेब, सविन राई, लाहुरे र स्थानीय व्याण्डको प्रस्तुति रहनेछ।

लोक दोहोरीतर्फ पुस १३ गते प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवशरी ढुंगाना, सुरेन्द्र गुरुङको प्रस्तुति रहनेछ। पुस १४ गते खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी र हाँस्यतर्फ दिपक थापाको प्रस्तुति रहनेछ।

पुस १५ गते बद्री पगेनी, प्रेमराजा महत, बविता बानिया जेरी, कुमार पुन र राजन कार्की र हाँस्यतर्फ राजा राजेन्द्रको प्रस्तुति रहनेछ।

पुस १६ गते शान्तिश्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, हाँस्यतर्फ युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुति रहनेछ। पुस १७ गते सम्झना भण्डारी, श्याम राना, कृष्ण अकेली र पार्वती जिसीको प्रस्तुति रहनेछ।