लेखनाथ महोत्सव: सोमबार ७० लाखको कारोबार

महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको छ

जनसम्मत
पौष ११, २०७९, सोमबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा दर्शक र कारोबारमा कमी आएको छ।

पुसको ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ ।

शनिबार र आइतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित बनेको छ। सोमबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रचार–प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन्।

महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालयस्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कीर्तन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु जारी छन्।

सोमबार भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु प्रजापती पराजुली, शंकरविरही गुरुङ, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल, गायिकाहरु पूर्णकला बिसी, वसन्ती थापा, दिलु मगर, लगायतको प्रस्तुति थियो। त्यस्तै, बेलुका लाइभ कन्सर्टतर्फ मिलन नेवार, र्‍यापर आको बुम, र ओम गुरुङले महोत्सवको स्टेज तताए।

मंगलबार महोत्सवमा लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु राजु परियार, अमर धिताल, माधव चापागाई, गायिकाहरु कला लम्साल, सरस्वती लामिछाने र कमला सुनारलगायतको आकर्षक प्रस्तुति रहनेछ। लाइभ कन्सर्टतर्फ मिलन नेवार, र्‍यापर आको बुम र ओम गुरुङको बेजोड प्रस्तुती रहनेछ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाडा नाकमा जारी छ।

महोत्सवमा कुल ३३७ स्टलहरु छन्। ग्रामीण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउने छुट्टै बेगनास तालको डेमो तयार गरिएको छ। जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवद्र्धनसम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन्।

त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ। आफ्नो सेवा तथा वस्तु प्रवद्र्धनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टलहरु राखेका छन्।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सह–प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंक छन्।

महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन्।

पुस ७ गतेदेखि सुरु महोत्सव १८ गतेसम्म चल्नेछ।