सरिता तिम्सिना पंगेनीलाई लेखनाथ पत्रकारिता पुरस्कार

पुरस्कार राशी ११ हजार १०१ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिने भएको हो

जनसम्मत
पौष ११, २०७९, सोमबार

पत्रकार सरिता तिम्सिना पंगेनीलाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार पंगेनीलाई प्रदान गरिने भएको हो।

पुरस्कारका लागि संयोजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरका प्रतिनिधि राममणि अधिकारी, पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल सदस्य रहेको प्रतिभा छनौट समितिले उनलाई छनौट गरेको हो।

पुरस्कार राशी ११ हजार १०१ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा पत्रकार पंगेनीलाई सम्मान गरिने भएको हो। कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती पुस १५ गतेको अवसर पारेर पुरस्कार प्रदान गर्ने मञ्चले जनाएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कानुन विभाग प्रमुखसमेत रहेकी तिमल्सिना पोखरा पोष्ट डटकमकी प्रधान सम्पादक हुन्। पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको हो।

उनले सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलतालगायतका संचार माध्यमहरुमा अनुभव संगालिसकेकी छन्। पत्रकारिता विषयमा स्नातकोत्तर एवं कानुन विषयमा स्नातकसम्मको अध्ययन गरेकी तिमल्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे गण्डकी अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्षलगायतको जिम्मेवारीमा छिन्।