२४ औं पोखरा सडक महोत्सवको तयारी

सडकमै खाउँ, सडकमै रमाउँ’, पोखरा, अंग्रेजी नयाँ वर्षको गन्तव्य

जनसम्मत
मंसिर २२, २०७९, बिहीवार

पोखरामा यही पुसको १३ गतेदेखि १७ गतेसम्म २४ औं संस्करणको सडक महोत्सव हुने भएको छ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान, पोखरा)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्ने भएको हो।

‘पुसको १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म संचालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरेचोक हुँदै जरेबरसम्म हुनेछ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)ले लेकसाइडमा आयोजना हुने २४ औं पोखरा सडक महोत्सवको तयारी तिव्र पारेको छ।

रेवानले बुधबार पत्रकार सम्मेलन गर्दै अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा विकास गर्न आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए।

उनले पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताए।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ पोखरा सडक महोत्सवको मुख्य नारा हो, पोखराको पर्यटन प्रवद्र्धनमा बेग्लै पहिचान स्थापित गरेको छ’, भट्टराईले भने, ‘राजनैतिक अस्थिरता, नाकाबन्दी, कोरोना महामारी लगायतको समस्याले व्यवसायीलाई धारायसी बनाएको छ। धारासयी भएको व्यवसायले सडक महोत्सवले केही राहत पैदा गर्नेछ भन्ने विश्वास लिएका छौ।’

महोत्सवले पर्यटन प्रवद्र्धन, तथा आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउने उद्धेश्यले आयोजना गरिएको रेष्टुरेन्ट बार एशोसिएसन (रेवान) पोखराले जनाएको छ। महोत्सवले पोखराको लेकसाइडको मात्र नभएर समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य लिएको छ।

५ दिनसम्म संचालन हुने महोत्सवमा ८५ लाख कारोबार हुने र १० लाख बचत गर्ने आयोजक रेबान पोखराले लक्ष्य लिएको छ। त्यस्तै, करिव ४ देखि ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सवको अवसरमा होटल संघले रुममा २० प्रतिशत छुट दिने बताएको छ।

सडक महोत्सवको आकर्षण

महोत्सवलाई थप आर्कषित बनाउन रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) ले ‘सडकमै खाउँ, सडकमै रमाउँ’ नारासहित विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुंगा (बोट) रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वारसहित पोखराको प्रमुख गन्तव्यसहितको डकुमेन्ट्री प्रदर्शन गरिने आयोजकले जनाएको छ।