पोखरा आइपुग्यो स्पेनिस फुटबल टोली काथेरेन्यो

कासेरेन्योले पोखरा र काठमाडौंमा एक/एक मैत्रीपूर्ण खेल खेल्नेछ

जनसम्मत
पौष १२, २०७९, मंगलवार

स्पेनिस फुटबल टोली काथेरेन्यो मैत्रीपूर्ण फुटबल खेलका लागि आज (मंगलबार) पोखरा आइपुगेको छ।

उक्त मैत्रिपूर्ण फुटवल खेल ‘शान्तिको लागि फुटबल’ भन्ने मूल नारासहित पोखरामा आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि आज बिहान ५५ जनाको स्पेनिस जम्बो टोली पोखरा आइपुगेको हो।

काथेरेन्यो टोली काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै पोखरा आई पुगेको हो।

स्पेनिस फुटबल टोली काथेरेन्यो मंगलबार मात्रै नेपाल आइपुगेको हो। नेपालमा २ मैत्रीपूर्ण खेल खेल्न कासेरेन्यो टोली नेपाल आइपुगेको हो।

काथेरेन्योले पोखरा र काठमाडौंमा एक/एक मैत्रीपूर्ण खेल खेल्नेछ।

पोखरा विमानस्थलमा पोखराका विभिन्न संघ संस्था तथा खेलकुदकर्मीले पाहुना टोलीलाई खादा तथा माला लगाएर  स्वागत गरे।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ एन्फा, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा २ खेल आयोजना गरेको हो।

कास्की जिल्ला फुटवल संघको सहकार्यमा, गण्डकी प्रदेश सरकार र विभिन्न संघसंस्थाको सहयोगमा  पोखरामा उमैत्रीपूर्ण खेल हुने भएको हो।

भोली (पुस १३ गते) हुने पहिलो खेलमा  गण्डकी–११ र कासेरेन्योबीच प्रतिस्पर्धा हुनेछ। गण्डकी–११ को कप्तानी अनिल गुरुङले गर्दैछन्। अनिल नेपालका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत हुन्। राजेन्द्र तामाङ गण्डकी–११ को प्रशिक्षक रहनेछन्। नेपालमा स्पेनको फुटबल टोली आउनु फुटबल समर्थकहरूको लागि खुसीको कुरा भएको कप्तान अनिल गुरुङले बताएका छन्।

पुस १४ गते हुने अर्को खेलमा काठमाडौं–११ र काथेरेन्यो आमने–सामने हुनेछन्। काठमाडौं–११ को कप्तानी नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले गर्दैछन्। काठमाडौं–११ को प्रशिक्षकमा भने मेघराज केसी रहने छन्।

काथेरेन्योसँग स्पेनका पूर्वराष्ट्रिय खेलाडी, ला लिगा फुटबल क्लब रियल म्याड्रिड, बार्सिलोना र एथलेटिको मड्रिडमा खेलेका खेलाडीहरूको सहभागिता रहनेछ।