आहा ! रारा पोखरा गोल्डकप फुटबलको तयारी पूरा

पुरस्कार राशीमा वृद्धि, १ विदेशी टिमसहित १० टिमको सहभागिता

जनसम्मत
पौष १२, २०७९, मंगलवार

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक सहारा क्लब पोखराले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।

पोखरा रंगशालामा संचालन हुने प्रतियोगिता पुस १४ देखि २३ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा आयोजक सहारा क्लबसहित विभागीय साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड धरान फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाएसस्सी) युएसएले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कूटर पुरस्कार पाउनेछ।

विधागततर्फ उत्कृष्ट ५ (गोलरक्षक, डिफेनडर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक) ले २५/२५ हजार पुरस्कार पाउनेछन्।

सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउनेछन्। प्रि–क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनलसम्मको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। फाइनल खेलको ‘म्यान अफ द म्याच’ ले भने १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रि–क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलको अधारमा टिकट मूल्य निर्धारण गरिएको छ। सामान्य प्यारापिटतर्फ प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भीआइपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ।

आयोजक सहारा क्लब पोखरा र धरान फुटबल क्लबबीच प्रतियोगिताको उद्घाटन खेल खेल्नेछन्।

प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताएका छन्। हाल तेश्रो व्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबलको प्रशिक्षणसहित शिक्षा प्राप्त गरिरहेका छन्।

अनन्तलाई सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार

सहारा क्लबले विगतका वर्षहरुमाझैँ यस वर्षपनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्दैछ। यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने भएको हो।

पुरस्कार राशि ५० हजार ५ रुपैयाँ छ। गत वर्षका तुलनामा पुरस्कार राशीमा १५ हजार ५ रुपैयाँ थप गरिएको हो। यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसकेका छन्। प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।