काथेरेन्यो र गण्डकीको मैत्रीपूर्ण फुटबल खेल तयारी पूरा

बुद्धको जन्मभूमीमा हुने रोमाञ्चक मैत्रीपूर्ण खेलमार्फत शान्तिको सन्देश फैलिने विश्वास

जनसम्मत
पौष १२, २०७९, मंगलवार

स्पेनिस फुटबल टोली काथेरेन्यो र गण्डकी–११ को पोखरामा भोली (बुधबार) हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ।

आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लव र गण्डकी–११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको जनाएको हो।

पोखरा रंगशालामा बुधबार दिउँसो २:३० बजे पछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष कार्लोसले बुद्धको जन्मभूमी नेपालमा आएर फुटबल खेलेर खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले भनेका छन्, ‘स्पेनको मिडियासहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनु भनेको नेपाललाई विश्वले अझ नजिकबाट चिनाउन यसले मद्दत पुग्छ।’

काथेरेन्यो क्लबका अध्यक्ष जोसे म्यानुएलले काथेरेन्यो क्लब स्पेनको ‘बी’ डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गर्दै अब ‘ए’ डिभिजनको लागि तयारी गरेको क्लव भएको जनाए। आफूहरुसँग व्यवसायिक फुटबलर भएकोले पोखरामा भोलि हुने मैत्रीपूर्ण फुटबल खेल उत्कृष्ट हुने अध्यक्ष जोसे म्यानुएलको दाबी छ।

अब आउने जनवरी ४ मा किङस कपमा रियल मड्रिडसँग खेल्ने टिम भएकोले गण्डकी–११ सँग हुने मैत्रीपूर्ण खेल निकै प्रतिस्पर्धात्मक हुने काथेरेन्यो क्लबका प्रशिक्षक खुलिओ कोबोसले बताए। घरेलु टिम गण्डकीसँग आफूहरुले जित निकाल्ने गरी खेल्ने रणनीतिमा टिम रहेको समेत उनले खुलाए।

गण्डकी–११ का प्रशिक्षक राजेन्द्र तामाङले केही दिनदेखि उक्त खेलको लागि तयारीमा रहेकोले आफूहरुले आफ्नो घरेलु मैदानको भरपूर फाइदा लिने गरी खेल्ने तयारी गरेको बताए। आफूहरुसँग राष्ट्रिय टिमका पूर्व खेलाडी तथा युवा खेलाडीहरु भएकोले आफ्नो टिम निकै सन्तुलित रहेको तामाङको दाबी छ।

गण्डकी–११ का टिम कप्तान अनिल गुरुङले स्पेनको ‘बी’ डिभिजनको उत्कृष्टमध्येको एक क्लवसँग पोखरामा फुटवल खेल्न पाउनु खेलाडी र दर्शकहरुको लागि ठूलो उपलब्धि भएको बताए। उनीहरुसँगको मैत्रीपुर्ण फुटबल खेल्नाले फुटबलका केही सीप तथा ज्ञान हासिल गर्न सकिने अनिलले सुनाए।

स्पेनका पूर्व राष्ट्रिय खेलाडी मिचेलले भोलि पोखरामा हुने खेल रोमाञ्चक हुने बताए। समयतालिका टाइट भएकोले अहिले घुम्न नपाएपनि पछि घुम्नकै लागि पोखरा आउने मिचेलले बताए। मैत्रीपूर्ण फुटबल अवलोकन गर्न दर्शक शूल्क ५ सय रहेको आयोजकले जनाएको छ।

उक्त मैत्रिपूर्ण फुटवल खेल ‘शान्तिको लागि फुटबल’ भन्ने मूल नारासहित आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि पोखरामा आज बिहान ५५ जनाको स्पेनिस जम्बो टोली पोखरा आइपुगेको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए।

कास्की जिल्ला फुटवल संघको सहकार्यमा, गण्डकी प्रदेश सरकार र विभिन्न संघसंस्थाको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो।

काठमाण्डौंदेखि हवाई उडान हुँदै पोखरा आएको स्पेनको ५५ सदस्य एक टोलीलाई पोखरा विमानस्थलमा पोखराका विभिन्न संघसंस्था तथा खेलकुदकर्मीले खादा तथा माला लगाएर टोलीलाई स्वागत गरे। स्पेनको उक्त टोलीले विहिबार भने काडमाण्डौं–११ सँग दशरथ रंगशालामा मैत्रिपूर्ण फुटवल खेल खेल्ने भएको पूर्व खेलाडी सुन्दर थापाले बताएका छन्।