मैत्रीपूर्ण फुटवलमा स्पेनको काथेरेन्यो क्लब विजयी

गण्डकी–११ काथेरेन्योसँग ३ गोलले पराजित बन्यो

जनसम्मत
पौष १३, २०७९, बुधबार

स्पेनको कारेरेन्यो फुटबल क्लब मैत्रीपूर्ण फुटबल खेलमा विजयी बनेको छ।

पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली गण्डकी–११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी बनेको हो।

‘शान्तिका लागि फुटबल‘ मूल नारासहित लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा मैत्रीपूर्ण खेल भएको हो।

स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लवले गण्डकी–११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो।

काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले १/१ गोलको योगदान गरे।

काथेरेन्योले पहिलो हाफमा गण्डकी–११ माथि २—० को अग्रता कायम गरेको थियो। पहिलो हाफदेखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका केही अवसरहरु खेर गयो।

डी बक्सभित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डी बक्सभित्रबाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाए।

गण्डकी–११ ले शुरुवातदेखि नै रक्षात्मक खेल खेल्यो। दोस्रो हाफमा गण्डकी–११ ले केही सुधारिएको खेल खेलेपनि स्कोर भने निकाल्न सकेन। गण्डकीका जय गुरुङले प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरयो। खेल अवधिभर गण्डकीले खासै पोष्टचार्ज गर्न सकेन।

काथेरेन्यो क्लबका प्रशिक्षक जुलियो कोभोसले दुबै टिमले राम्रो खेलेको बताए। नेपालको खेल निकै फाष्ट हुने गरेको बताए। नेपाली खेलाडीहरु एयरवलको पक्षमा कमजोरी भएको प्रशिक्षक कोभोसले औंल्याए।

गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले विदेशी व्यवसायिक फुटवल टिमसँग आफ्नै मैदानमा खेल्न पाउनु खुशीको कुरा भएको बताए। स्पेनजस्तो देशको खेलमा छोटो समयमा तयार पारेको गण्डकीले सन्तोषजनक खेल खेलेको तामाङले सन्तुष्टि जनाए।

गण्डकीका कप्तान अनिल गुरुङले शारीरिक तथा टेक्निकल रुपमा उनीहरु भन्दा आफूहरु कमजोर भएको बताए। स्पेनको ‘बी’ डिभिजनको क्लवसँग आफूहरु खेल्दा युवा खेलाडीलाई प्रोत्साहन हुने नेपाली टिमका पूर्व कप्तान समेत रहेका गुरुङले बताए।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ समेत गण्डकी–११ को टिमबाट मैदानमा उत्रिएका थिए।

खेलअघि लाइनअपमा नेपाली खेलाडीहरुले स्पेनका खेलाडीहरुलाई ढाका टोपी लगाएर स्वागत गरे।

उक्त अवसरमा वक्सिङका पूर्व खेलाडी गणेश भट्टराईले स्पेनिस फुटवल क्लवका उपाध्यक्ष रोचालाई मायाको चिनो हस्तान्तरण गरे।

यसअघि उक्त प्रतियोगिताको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे।

कार्यक्रममा बोल्दै तिमिल्सिनाले स्पेन जस्ता देशका खेलाडीहरु नेपाल आउनु नेपालको खेलकुदमा यसले छुट्टै संभावना र विकास गराउन मद्दत पुग्ने बताए।

राज्यले खेलकुदमा धेरै लगानी गर्न नसकेको बताउँदै उनले नेपालको खेलकुदको विकासमा निजी र खेल संघ तथा राज्यको सहकार्य र विभिन्न संघसंस्थाको समन्वय हुन आवश्यक भएको औंल्याए। राजनीतिक दलका नेताले पनि अब खेलकुद बुझ्नुपर्ने समय आएको अध्यक्ष तिमिल्सिनाले भनाई थियो।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा, कृषि मन्त्री चन्द्रबहादुर बुढा, सांसद खगराज अधिकारीलगायतको सहभागिता थियो।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोसे म्यानुयलले बुद्धको जन्मभूमी नेपालमा आएर फुटबल खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुशी लागेको बताए।

काथेरेन्यो क्लबका अध्यक्ष कार्लोसले स्पेनको ‘बी’ डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गरे। अब, क्लब ‘ए’ डिभिजनको लागि तयारी गरेको जनाए।

कास्की जिल्ला फुटवल संघको सहकार्यमा उक्त खेल पोखरामा भएको हो।

भोलि (बिहीबार) काठमाण्ठौं– ११ सँग स्पेनको टोलीले मैत्रीपूर्ण खेल खेल्ने भएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए।