आहा ! रारा पोखरा गोल्डकप: धरानको विजयी सुरुवात

आयोजक सहारा पहिलो खेलबाटै बाहिरियो

जनसम्मत
पौष १४, २०७९, बिहीवार

धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे। उनले खेलको सुरुवाती चौथो मिनेटमा फ्रीकिकमार्फत गोल गरे।

डीएरिया नजिक सहाराका भागवत चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपटि धरानले फ्रीकिक पाएको थियो। प्रकाश बुढाथोकीले प्रहार गरेको सशक्त फ्रीकिकले सिधै जाली चुमेको थियो।

धरानसँगको हारसँगै घरेलु सहारा पहिलो खेलबाटै बाहिरिएको छ।

प्रकाश नै खेलको ‘म्यान अफ दि म्याच’ बने।

मुख्य रेफ्री नविन्द्रराज महर्जनले प्रकाश प्रकाश बुढाथोकी र सुरज बि.क. तथा सहाराका भागवत चौधरीलाई पँहेलो कार्ड देखाए।

हिमश्री फूड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मूख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता छ।

भोली (शुक्रबार) विभागीय नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ।

यस पटक आयोजक सहारा क्लबसहित साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स (बीवाएससी) क्लब युएसएले प्रतिस्पर्धा गर्दैछ।

यस पटक पुरस्कार राशीमा वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउनेछन् । यस्तै, विधागततर्फ सवोत्कृष्ट खेलाडीले इलेक्टिङक स्कूटी पाउनेछ। त्यस्तै, उत्कृष्ट ५ (गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक) ले जनही २५ हजार पाउनेछन्। सर्वाधिक गोलकर्ताले २५ हजार र सेमिफाइनललिस्ट ‘म्यान अफ द म्याच’ले ८ हजार र फाइनलिस्टले १० हजार पुरस्कार पाउनेछन्।

यसअघि, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरे। राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई सर्वोत्कृष्ट वर्ष खेलाडीबाट सम्मान गरेको छ। पुरस्कार राशी ५० हजार ५ रुपैयाँ पुरस्कारबाट अनन्त पुरस्कृत भएका हुन्।