आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग पुलिस स्तब्ध

शनिबार साविक विजेता एपीएफ फुटबल क्लब र धरान एफसीबीच क्वार्टरफाइनल प्रतिस्पर्धा हुनेछ

जनसम्मत
पौष १५, २०७९, शुक्रबार

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ।

नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम ८ मा पुगेको हो।

आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइजले खेलमा १–० ले पछि परेको स्थिति उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो। चर्च ब्वाइजको जितमा अन्जन विष्ट र अनन्त तामाङले गोल गरे।

अन्जन यही सिजन मनाङ छाडेर तथा अनन्त थ्रीस्टार छाडेर चर्च ब्वाइज पुगेका हुन्। पुलिस क्लबका लागि रवि पासवानले गोल गरे।

खेलको २५ औँ मिनेटमा रविको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता लिएको थियो। उनले निरकुमार राईको क्रस बलमा फस्र्टबार च्याप्दै गोल गरे। खेलमा अग्रता बनाएपनि अन्तिम समयमा सम्हालिन नसक्दा पुलिस पहिलो चरणबाटै घर फर्कियो।

खेलको ७६ औँ मिनेटमा अन्जनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

निर्धारित समयमा १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १ सयौँ मिनेटमा अनन्तले गोल गर्दै जित पक्का गरेका हुन्। कर्नर किकमार्फत गोल गर्दै चर्च ब्वाईजले अग्रता लियो। तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’ भई अनन्त तामाङकोमा पुगेपछि उनले सहजै जाली चुमाए।

चर्च ब्वाइजका तेज तामाङ ‘म्यान अफ दि म्याच’ बने।

चर्च ब्वाइज र पुलिसबीचको अन्तिम प्रिक्वार्टरफाइनलको खेल सकिएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

चर्च ब्वाइजले प्रतियोगिताको क्वार्टरफाइनलमा आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ।

प्रतियोगितामा भोलि शनिबार साविक विजेता एपीएफ फुटबल क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ। धरान पहिलो खेलमा आयोजक सहारालाई हराउँदै अन्तिम ८ मा पुगेको हो।