गण्डकी प्रदेशका सांसदले लिए गोपनीयताको शपथ

जनसम्मत
पौष १४, २०७९, बिहीवार

गण्डकी प्रदेश सभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरुलाई आज (बिहीबार) गण्डकी प्रदेशको सभामा शपथ खुवाएका हुन्।

ज्येष्ठ सदस्य बस्यालले हिँजो (बुधबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

६९ जना सांसदमध्ये ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा शपथ लिएका छन्।

जसमा राप्रपाका पञ्चमान गुरुङ, काँग्रेसकी सरस्वती गुरुङ र पार्वती तामाङले मातृ भाषामा शपथ लिएका हुन्। शपथ ग्रहणपछि सांसदले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लिए।

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्। जसमा ४ जना मात्रै पुराना सांसद मात्र दोहोरिएका छन्।

दोहोरिनेमा काँग्रेसबाट बिन्दुकुमार थापा, एमालेबाट रोशन गाहामगर, माओवादीबाट हरिबहादुर चुमान र विगतमा स्वतन्त्रबाट निर्वाचित भएर अहिले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गे छन्।