महान फुटबलर पेलेको निधन

जनसम्मत
पौष १४, २०७९, बिहीवार

महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित उनको उपचारका क्रममा ब्राजिलको साओ पाओलोस्थित अस्पतालमा निधन भएको हो।

उनी पहिलेदेखि नै मिर्गौलाको समस्याबाट पीडित थिए। २१ वर्षको खेल जीवनमा विपक्षीसँगको घम्साघम्सीका क्रममा उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाए। सन् २०२१ मा पेलेको आन्द्रामा रहेको ट्यूमरको शल्यक्रिया गरिएको थियो। त्यसअघि, सन् २०१५ मा उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो।

फुटबल इतिहासको सबै भन्दा महान व्यक्तित्व गुम्दा फुटबल प्रेमीहरु शोकमा छन्। पेलेप्रति विश्वभरका फुटबल खेलाडी, फुटबल प्रेमी तथा उनका फ्यान फलोअर्सले श्रद्धासुमन व्यक्त गरेका छन्।

फुटबलका सम्राट भनेर चिनिने पेलेको जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलको ट्रास कोराकोस मिनास गेरेस शहरमा भएको थियो। उनको वास्तविक नाम एड्सन आरान्तेस दो नासिमेन्तो हो।

पेलेका बुबा पनि स्थानीय क्लबबाट फुटबल खेल्ने भएकाले उनी र फुटबलको सान्निध्य बाल्यकालबाटै बन्यो। फलस्वरुप १५ वर्षको उमेरमा उनले सान्तोस क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरे। त्यसको २ वर्षपछि उनले आफ्नो करिअरलाई अन्तर्राष्ट्रिय रुपमा छलाङ लगाए।

सन् १९५८ देखि १९७० को बीचका विश्वकप फुटबलमा पेले सहभागी थिए। तिमध्ये सन् १९५८, १९६२ र १९७० मा गरी ३ वटा विश्वकपको उपाधि उचाले। ३ वटा विश्वकप जित्ने पेले एक मात्र एक्ला खेलाडी हुन्।

विश्वकप फुटबलमा सबैभन्दा सफल टोलीका रुपमा चिनिने ब्राजिलबाट उनी १० नम्बरको जर्सी लगाएर खेल्ने गर्थे। पेलेले फुटबल करियरमा १ हजार ३ सय ६३ खेलबाट १ हजार २ सय ७९ गोल गरेका छन्। जसमा ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन्।

अमेरिकाको पहिलो व्यावासायिक फुटबल लिग पश्चात् सन् १९७७ मा उनले खेल जीवनबाट संन्यास लिएपनि विश्वका सर्वाधिक परिचित व्यक्तिमा पेले नै रहे। उनले प्रशिक्षक वा व्यवस्थापकको भूमिका कहिल्यै निर्वाह गरेनन्।

पेलेले आफ्नो खेल जीवनमा ५० वर्षको उमेरमा एक पटक मात्रै कप्तानी सम्हाले। सन् १९७५ मा पेले न्यूयोर्क कस्मसका तर्फबाट अमेरिकाको पहिलो व्यावसायिक फुटबल लिग खेल्न न्यूयोर्क पुगे। पेलेले आफ्नो जीवनमा कहिले पनि यूरोपेली क्लबबाट भने खेलेनन्।

उनी दर्शक माझ यति लोकप्रिय थिए कि, उनी एक समय दर्शकको अपहरणमा समेत पारे। सान्तोस एफसीबाट सन् १९७२ सेप्टेम्बर ५ मा ट्रिनिडाड एन्ड टोबागोमा खेल्दा दर्शकको भिड मैदान प्रवेश गरी उनलाई काँधमा बोकी सडकमा विजय जुलुस नै निकाले।

उनको व्यक्तित्व, खेल कला र मैदानभित्रको चातुर्यताले खेलाडी र समर्थकलाई मन्त्रमुग्ध पाथ्र्यो।

पेले ब्राजिलका राष्ट्रपति बन्न चाहन्थे। तर, त्यो अवसर उनको जीवनमा कहिल्यै जुरेन। उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री भने बने।

सन् १९५९ मा दक्षिण अमेरिकी च्याम्पियनसीप खेले, सो प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले सो प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बने। अपराजित बन्दै फाइनल पुगेपनि ब्राजिल उपविजेता मै सीमित बन्यो।