अघौँ अर्चलेमा लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

जनसम्मत
पौष १५, २०७९, शुक्रबार

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।

कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो।

कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो।

जन्मजयन्तीका अवसरमा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुको साथै कवितावाचन र लेखनाथले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरिएको थियो।

कार्यक्रम गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताए।

‘लेखनाथ पौड्याल नेपाली भाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा प्रख्यात हुनुहुन्थ्यो’, नेता अधिकारीले भने।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने कविको रुपमा चिनिने गरेको बताए। कवि शिरोमणिका हरेक कविताले प्रज्ञाको ज्योति जगाउनुको साथै आनन्द दिलाउने खालका रहेको उनको भनाइ थियो।

प्रकृतिको चित्रण र मनमोहक वर्णन त उहाँको काव्यशिल्पको मुटु नै  भएको भनाई श्रेष्ठको छ।

साहित्यकार सरुभक्त श्रेष्ठले भन्नुभयो, ‘लेखनाथले कविता मानव जीवनका विषयमा मात्र होइन, मृत्युका विषयमा पनि अकाट्य दार्शनिक कविता कोर्नुभएको छ।’

साहित्यकार तथा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थाल्नुभएका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको बताए।

साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाउनुभएको भनाइ राखिन्। सो अवसरमा साहित्यकार हरिदेवी कोइरालाले शिरोमणि लेखनाथकी छोरी कुन्तीदेवी भट्टराईले लेखेको कविता  वाचन गरेकी थिइन्।

जन्मजयन्तीकै अवसरमा नेपाली भाषा विज्ञानमा विशेष योगदान पुर्‍याउने चुडामणि रेग्मीलाई लेखनाथ साहित्य पुरस्कारद्वारा सम्मान गरिएको छ। उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ।

त्यस्तैगरी, कुन्तिदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको छ। ती पुरस्कार राशी २५ हजार रुपैयाँ छन्।

त्यस्तैगरी पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार सरिता तिमिल्सेनालाई लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ। उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ।

त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई प्रत्येक जन्मजयन्तीमा पुरस्कृत गरिँदै आइएको छ। उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष एवं साहित्यकार पदमराज ढकालले गरेका थिए।