देशमा राष्ट्रिय सहमति आवश्यक: वरिष्ठ नेता पौडेल

जनसम्मत
पौष १५, २०७९, शुक्रबार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्।

व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको आज (शुक्रबार) उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

सम्पन्नताको बाटोमा जानका लागि राजनीतिक स्थिरता, सुशासन, द्रूत विकास आवश्यकता भएको उनको भनाई छ।

‘देशमा स्थायित्व, विकास, सुशासन र गाउँमै आम्दानी र रोजगारीका लागि राष्ट्रिय सहमतिको आवश्यक छ,’ नेता पौडेलले भने।

राष्ट्रिय सहमतिको लागि तम्ततयार हुनका लागि राजनीतिक दललाई वरिष्ठ नेता पौडेलले आह्वान समेत गरे।

वरिष्ठ नेता पौडेलले भने, ‘राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताहरुले हिम्मत गर्नुपर्छ।’

कृषि क्रान्ति, पर्यटनको विस्तार तथा उद्योग व्यवसायको संचालन आवश्यक भएको नेता पौडेलले उल्लेख गरे।

उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक भएको पौडेलले जनाए।

रोजगारीको खोजीमा विदेश जाने युवा शक्तिलाई देशभित्र नै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गरी श्रमप्रति सम्मान एवं सकारात्मक सोँचको विकास गराई स्वरोजगार तथा उत्पादनमुखी, उद्यमशील र सीपयुक्त नागरिक तयार गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो।