आहा ! रारा पोखरा गोल्डकप: एपीएफ सेमिफाइनलमा

भोली (आइतबार) मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हुनेछ

जनसम्मत
पौष १६, २०७९, शनिबार

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

एपीएफले पहिलो हाफमै गोलको नतिजा निकालेकाले सहजै सेमिफाइनल प्रवेश गर्‍यो।

एपीएफको जितमा बिकु तामाङ र युवराज खड्काले गोल गरे।

बिकुले खेलको ३७ औं मिनेटमा गोल गरे। मैदानको सेन्टरलाइन भन्दा अघिबाट एकल रुपमा बललाई अघि बढाउँदै लगेर धरानका कीपर सौरभ बिट भएको अवस्थामा डिफेन्डर छलाउँदै गोल गरे।

त्यसको ३ मिनेटमै एपीएफले दोब्बर अग्रता बनाए। युवराज खड्काले दोस्रो गोल गरे। नविन लामाको सशक्त प्रहार कीपर सौरभको हातबाट फुत्किएर फर्किएको बललाई दोस्रो बार च्याप्दै युवराजले गोल गरे।

प्रेस म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनको टोलीका खेलाडीबीच राम्रो तालमेल र पाएको अवसरलाई गोलको नतिजा निकाल्दा टोलीले सफलता हात पारेको प्रतिक्रिया दिए। यद्यपी, टोलीको पहिलो खेलको प्रदर्शनबाट भने प्रशिक्षक महर्जन खुशी छैनन्। सेमिफाइनलदेखि टोलीको प्रदर्शनमा सुधार ल्याउने र उपाधि रक्षा गर्ने रणनीतिमा टोली लक्ष्य रहने प्रशिक्षक महर्जनको भनाई छ।

उता, धरानका प्रशिक्षक सागर घिमिरेको भने टोलीले साविकको खेल खेल्न नसक्दा हार व्यहोरेको प्रतिक्रिया छ।  पाएको अवसरलाई गोल गर्न नसक्दा टोलीको हार भएको घिमिरेको प्रतिक्रिया दिए।

धरानले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराएर क्वार्टरफाइनल खेलेको हो।

क्वार्टरफाइनलमा एपीएफसँग हारेसँगै धरान फुटबल क्लब घर फर्किएको छ। एपीएफले भने पर्सि (सोमबार) हुने त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको विजेतासँग बुधबार सेमिफाइनल खेल्नेछ।

एपीएफ र धरानले यो संस्करणसँगै १६ पटक प्रतियोगितामा सहभागिता जनाएको हो। यो संस्करणसँगै हालसम्म धरान र एपीएफ २ पटक आमने–सामने भएका छन्। यसअघि, ०७३ मा भएको १५ औं संस्करणको आहा ! रारा गोल्डकपको प्रि–क्वार्टरफाइनलमा धरान र एपीएफ भिडेका थिए। त्यतिबेला, धरानले एपीएफलाई हराउँदै मनाङ मस्र्याङ्दीसँग क्वार्टरफाइनल खेलेको थियो।

शनिबारको खेलमा एपीएफका बिकु तामाङ ‘म्यान अफ दि म्याच’ बने।

मुख्य रेफ्री नविन्द्रराज महर्जनले धरानका कप्तान सरोज बि.क. र विक्रम धिमाल तथा एपीएफका सब्सीच्युट खेलाडी सविन थापालाई पँहेलो कार्ड देखाए।

भोली (आइतबार) मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। चर्च ब्वाइजले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। त्यस्तै, मच्छिन्द्रले भने सिधै वाई पाएर क्वार्टरफाइनल खेल्ने भएको हो।