क्रिकेटर गौतम गाम्भिरको भारतीय राजनीतिको लोकसभामा डेब्यु

सन् २०१८ को अक्टोबरमा क्रिकेटबाट संन्यास लिएका गाम्भिरले सन् २००३ मा भारतीय क्रिकेटको टिममा डेब्यू गरेर सन् २०११ को विश्वकप भारतलाई दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए

जनसम्मत
जेठ ११, २०७६, शनिबार

भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनर गौतम गाम्भिरले भारतीय राजनीतिको लोकसभामा समेत डेब्यु गरेका छन् ।

गाम्भिरले भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा विजय हासिल गरेर राजनीतिक क्षेत्रमा डेब्यु गरेका हुन् । दिल्लीको इस्ट दिल्ली क्षेत्रबाट चुनाव जितेका गाम्भिरले ३ लाख १० हजार ६ मत ल्याएर जित हासिल गरेका हुन् ।

उनी भारतीय जनता पार्टीबाट उमेदवार बनेका थिए । गाम्भिरका निकटतम प्रतिद्वन्द्वी भारतीय कांग्रेस पार्टीका अरभिन्दर सिंह लभ्लीले १ लाख ५३ हजार २ सय ७९ मत ल्याए । उनलाई मत दिने मतदाताहरुले योसँगै गाम्भिरको लोभसभामा डेब्यू मानेका छन् ।

चुनावअघि गाम्भिर र आम आद्मी पार्टीकी अतिसीबीच ठूलो विवाद भएको थियो । अतिसीले गाम्भिरले गलत पम्प्लेट बनाएको भन्दै विरोध गरेकी थिइन् । ३७ वर्षीय गाम्भिर गत महिनामात्र भारतीय जनता पार्टीमा आवद्ध भएका थिए । उनलाई मन्त्री अरुण जेट्ली र रविशंकर प्रसादले पार्टीमा भित्राएका थिए ।

त्यसअघि उनले सन् २०१८ को अक्टोबरमा क्रिकेटबाट संन्यास लिएका थिए । सन् २००३ मा भारतीय क्रिकेटको टिममा डेब्यू गरेका गाम्भिरले सन् २०११ को विश्वकप भारतलाई दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गाम्भिरले भारतका लागि ५८ टेस्ट, १ सय ४७ एकदिवसीय र ३७ टी–२० खेल खेलेका छन् । त्यस क्रममा उनले टेस्टमा ९ शतक र एक दिवसीय खेलमा ११ शतक प्रहार गरेका थिए ।