राष्ट्रिय टोपी दिवस मनाइँदै

जनसम्मत
पौष १७, २०७९, आइतबार

आज, दशौं राष्ट्रिय टोपी दिवस।

राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

देशको शान, देशको पहिचान र राष्ट्रिय पोशाक संरक्षणका लागि यो दिवस मनाउन थालिएको हो।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।

नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन्।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएको छ।

दिवसका अवसरमा आज काठमाडौ उपत्यकासहित ७७ वटै जिल्लामा विशेष कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय पोशाक संरक्षण महाअभियानका अध्यक्ष राजानन्द माण्डयले जानकारी दिएका छन्।