आहा ! रारा पोखरा गोल्डकप: चर्च ब्वाइजसँग मच्छिन्द्र स्तब्ध

भोली (सोमबार) विभागीय त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल हुनेछ

जनसम्मत
पौष १७, २०७९, आइतबार

नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आज (आइतबार) भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै चर्च ब्वाइजले सेमिफाइनलमा स्थान बनाएको हो।

आशिष चापागाइँको २ गोल मद्दतमा चर्च ब्वाइजले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल थप्यो।

आशिषले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। आशिषले फिनिसिङ टच दिँदै गोल गरे। अन्जन विष्टले अफसाइड ‘ट्रयाप’ बिट गर्दै प्रहार गरेको हेडर बललाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले क्लियर गर्न नसक्दा आशिषले पोष्टको बाटो देखाउँदै गोल गरे।

पहिलो हाफको ईञ्जूरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए। आशिष चौधरीले निकालिदिएको क्रस बललाई आशिषले मछिन्द्रका ३ डिफेण्डरलाई छलाउँदै जाली चुमाए।

मछिन्द्रमाथि दबावमाथि दवाव बढाएको चर्च ब्वाइजले ६४ औं मिनेटमा अर्को गोल थप्यो। टोलीलाई तेहरो अग्रता दिलाउन आशिष चौधरीले गोल गरे। आशिष चापागाइँको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले चलाखीका साथ प्रहार गरेको लेफ्ट सूट फष्टबारमा गोल भएको थियो।

मच्छिन्द्रले ८९ औं मिनेटमा १ गोल फर्काएपनि लिग च्याम्पियनको प्रतिष्ठा जोगाउन सकेन। मच्छिन्द्रका लागि सब्सीच्युट खेलाडी सौरभ सुब्बाले गोल गरे। अभिषेक गुरुङको पासमा सौरभले गोल गरे।

सौरभ र अभिषेक एक साथ खेलको ७६ औं मिनेटमा मैदान छिरेका थिए। सौरभ छिरिङ गुरुङ र अभिषेक रितिक खड्काको सट्टामा मैदान छिरेका थिए।

चर्च ब्वाइजका आशिष चापागाइँ ‘म्यान अफ दि म्याच’ बने।

चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामा खेलाडीहरुको प्रदर्शनदेखि सन्तुष्ट छन्। टोलीको प्रदर्शनमा निखारता आएकैले जित संभव भएको प्रशिक्षक लामाले प्रतिक्रिया दिए।

प्रिक्वार्टरमा आहा ! रारा गोल्डकपको सर्वाधिक उपाधि विजेता नेपाल पुलिसलाई हराएर हौसिएको टोलीको दोस्रो खेलमा झनै सुधार आएको प्रशिक्षक लामाको दाबी छ। टोलीको उपाधि जित्ने लक्ष्यसहित पोखरा भ्रमण रहेको लामाले बताए।

चर्च ब्वाइजले अब मंगलबार हुने मनाङ मस्र्याङदी र पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएको विजेतासँग सेमिफाइनल खेल्नेछ।

भोली (सोमबार) विभागीय त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल हुनेछ।