पूरा भयो पोखरेलीको ५ दशकदेखिको सपना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमानस्थलको उद्घाटन

जनसम्मत
पौष १७, २०७९, आइतबार

पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि संचालनमा आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्।

आज पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन्।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका थिए।

उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरामै थिए।

समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, चीन सरकारका प्रतिनिधिलगायतको उपस्थिति थियो। उद्घाटनअघि हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनकै दिन आज भने कुनैपनि अन्तर्राष्ट्रिय उडानहरु भएनन्। प्रधानमन्त्री प्रचण्ड नै आन्तरिक उडानको जहाजबाट पोखरा आईपुगेका थिए।

कार्यक्रममा विमानस्थल निर्माणमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको छ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो।

विक्रम संवत् २०३२ सालमा जमिन अधिग्रहण गरेपनि २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माण कार्य सुरु गरिएको थियो। योसँगै पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने ५ दशकदेखिको सपना पूरा भएको छ। ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन शोलगायतका कार्यक्रम राखिएको थियो।

विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा समेत दिइएको थियो।

पोखरा महानगरले आज बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध समेत गरेको छ।

विमानस्थलको उद्घाटनको दिन आजदेखि नै सबै आन्तरिक उडानहरु नयाँ विमानस्थलबाट भएको थियो।