देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान: प्रधानमन्त्री ‘प्रचण्ड’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको जोड

जनसम्मत
पौष १७, २०७९, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै विमानस्थल निर्माणले पोखरामा मात्रै नभइ सिंगै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने औंल्याएका छन्।

विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत उनले बताए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए।

आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि काम गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को प्रतिबद्धता छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘‘नेपाल सरकारको तेस्रो कार्यकालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक हप्ता बित्न नपाउँदै सुन्दर र पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको हेर्न पाउँदा हर्ष र गर्व महसुस भएको छ।’

उनले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको बताए। शान्ति सम्झौतामा आएदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री भएदेखि नै लगातार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, उद्योग व्यवसायी र आम जनतासँग निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएको स्मरण गरे।

‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका जनताले पटकपटक गरेको प्रयासमा आन्दोलन, संघर्ष र अनशन तोड्नका लागि म आफैँले लिएका पहलकदमी र भूमिकाको स्मरण गरिराखेको छु’, प्रधानमन्त्री ‘प्रचण्ड‘ले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा या दोस्रो पटक प्रधानमन्त्रीको रूपमा पनि यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दूतावासमा मात्रै होइन, चीन भ्रमणका सन्दर्भमा चिनियाँ नेतासँग मैले लगातार गरेका संवाद, अन्तरक्रिया स्मरण गरिरहेको छु।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस् र समग्र आर्थिक विकासमा योगदान गर्न सकोस् भन्ने बताए। उनले पर्यटकीय केन्द्रको रूपमा पोखरा विश्वभरि परिचित भएको चर्चा गरे।

‘तपाईंहरुसँगै हामी सबैको सपना यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस्। यसले हाम्रो समग्र आर्थिक विकास एउटा नयाँ योगदान पोखराले गर्न सकोस्। यसै पनि पोखरा नेपालकै एउटा पर्यटकीय केन्द्रको रूपमा विश्वभरि परिचित छ’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि कनेक्टिभिटीको महत्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ठोस योगदान पुर्‍याउने स्पष्ट पारे।

 

विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्छ: अर्थमन्त्री पौडेल

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए।

उनले विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

 

देशकै गौरवको विषय: मुख्यमन्त्री पोखरेल

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु देशकै लागि गौरवको विषय रहेको उल्लेख गरे।
अब विमानस्थलको संचालन र पोखराको विविध क्षेत्रको विकासमा पनि ध्यान दिन आग्रह गरे।

 

उच्च प्रविधि र उपकरण जडान: महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको ठूलो पहल तथा विभिन्न सरकारले गरेको मेहनतले गर्दा विमानस्थलको निर्माण सम्पन्न भएको बताए। यो विमानस्थलमा नेपालमै अहिलेसम्म नभएका प्रविधि र उपकरण जडान गरिएको उनले उल्लेख गरे।

कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पुर्‍याएका पूर्वपर्यटन मन्त्रीहरुलाई पनि सम्मान गरिएको थियो।