पोखरेलीहरुको ५ दशक लामो सपना पूरा हुँदै

भोलीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदै, प्रधानमन्त्री ‘प्रचण्ड’ बाट समुद्घाटन

जनसम्मत
पौष १६, २०७९, शनिबार

पाँच दशक लामो प्रतीक्षा पछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवस्था सम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखी यसको निर्माणका निमित्त निरन्तर संघर्ष गर्ने सवैप्रति पोखरा महानगरपालिका हार्दिक आभार व्यक्त गरेको छ।

राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युको समुपस्थितिमा भोली पौष १७ गते (सन २०२३ जनवरी १) तारिका दिन भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम छ।

यसलाई अझै भव्य र सभ्य रूपमा सु–सम्पन्न गर्न संचारकर्मी मित्रहरूको भूमिका अतुलनीय हुने भएकाले प्रचार–प्रसारमा विशेष भूमिका खेल्न महानगरपालिकाले हार्दिक अनुरोध गरेको छ।

उद्घाटन समारोह पूर्व पोखराको अमरसिंह चोकदेखी अन्तर्राष्ट्रिय विमानस्थलसम्म सांस्कृतिक झाँकीसहितको र्‍याली, विभिन्न सांगीतिक कार्यक्रमहरु मिलन लामाको प्रस्तुति, कौडा नृत्य, घाटु नाच, याक नृत्य, बालबालिकाहरूको नृत्य लगायत, अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहण सहित सम्मान र फेशन सोलगायतका कार्यक्रमहरू पोखरा महानगरपालिकाको तर्फबाट गर्ने कार्यक्रम छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका सन्दर्भमा पोखरा महानगरपालिका कार्यालय मातहतका महाशाखा तथा शाखा, वडा कार्यालयसहित अन्तरगतका विद्यालय तथा शैक्षिक संघसंस्था समेतमा कार्यरत संपूर्ण कर्मचारीहरूलाई अनिवार्य सहभागिताका लागि निर्देशन सहित बिदा दिइएको छ। साथै महानगरपालिकाको तर्फबाट व्यापक जनसहभागिताका लागि सार्वजनिक आह्वान समेत गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रको लाइफलाइन भएको बताएका छन्। प्रमुख आचार्यले यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्नुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास समेत लिएका छन्।