अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा जे देखियो (फोटोफिचर)

जनसम्मत
पौष १७, २०७९, आइतबार

पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सुन्दर पर्यटकीय नगरीका पोखरेलीहरुले उनेर राखेको ५ दशक लामो सपना पूरा भएको छ। ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीहरूका लागि गर्वको विषय हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने कार्यदेखि यसको निर्माणका निमित्त निरन्तर संघर्ष गर्ने सवैको प्रतिफल हो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। आज पुस १७ गते तद्अनुसार अंग्रेजी क्यालेन्डर नयाँ वर्ष सन् २०२३ को पहिलो दिन जनवरी फस्र्टबाट यहाँको अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गरेका हुन्। समुद्घाटनमा सपनाको विमानस्थलमा पोखरेलीहरुको मानवसागर नै उर्लियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका सन्दर्भमा पोखरा महानगरपालिका कार्यालय मातहतका महाशाखा तथा शाखा, वडा कार्यालयसहित अन्तरगतका विद्यालय तथा शैक्षिक संघसंस्था समेतमा कार्यरत संपूर्ण कर्मचारीहरूलाई अनिवार्य सहभागिताका लागि निर्देशन सहित बिदा दिइएको थियो। महानगरपालिकाको तर्फबाट व्यापक जनसहभागिताका लागि आम पोखरेलीमाझ सार्वजनिक आह्वान समेत गरिएको थियो। उद्घाटन समारोहअघि, पोखराको अमरसिंह चोकदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म विभिन्न जातजातीको भेषभूषसहितका सांस्कृतिक झाँकी र र्‍याली निकालिएको थियो। र्‍यालीमा विभिन्न सांगीतिक कार्यक्रमहरु, मिलन लामाको प्रस्तुति, कौडा नृत्य, घाटु नाच, बालन नाच, याक नृत्य, बालबालिकाहरूको नृत्यहरुको प्रदर्शन गरिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार तत्कालीन अञ्चलाधीश शंकरराज पाठक हुन्। समुद्घाटनको अवसरमा शंकरराजलाई रथारोहणसहित दोसल्ला ओढाएर कदरपत्रद्वारा सम्मान गरिएको थियो।

हेरौं, फोटोफिचरमा ३१ तस्बीरहरु

 

तस्बीहरु: पोखरा महानगर कार्यालयको फेसबुक पेजबाट