छैटौं पटक युरोपियन गोल्डेन बुट जितेर फुटबलमा थप नयाँ रेकर्ड बनाउने दाउमा छन् मेस्सी

यस सिजनको युरोपियन लिगमा मेस्सीले ३६, पीएसजीका एम्बाप्पेले ३२ गोल गरेका छन्, युभेन्टसका रोनाल्डोको गोल संख्या धेरै अन्तरले पछाडि छ

एजेन्सी
जेठ ११, २०७६, शनिबार

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै कीर्तिमान बनाएका छन् ।

जुन कीर्तिमानहरु तोड्न अरु फुटबलरहरुलाई निकै कठिन र समय लाग्नेछ । अर्जेन्टिनाका मेस्सीले फुटबलमा बनाएको कीर्तिमान सायद कमै होला । सधै कीर्तिमानको होडमा हुने मेस्सी पुनः अर्को कीर्तिमान नजिक पुगेका छन् । मेस्सी यस सिजनको युरोपियन ‘गोल्डेन शु’ को अवार्ड नजिक पुगेका छन् । जुन अवार्ड जिते मेस्सीले गोल्डेन शु अवार्ड लगातार तेस्रो बर्ष जित्दै कीर्तिमान बनाउने छन् । समग्रमा ६ पटक गोल्डन शु जित्दै मेस्सीले अर्को इतिहास रच्नेछन् ।

सन् १९६७/०६८ बाट युरोपियन लिगमा सर्वाधिक गोलकर्तालाई प्रदान गर्ने गरी गोल्डेन शु अवार्ड दिन सुरु गरिएको थियो । पहिलो पटक बेन्फिकाका इसुबिया डे सिल्भाले पोर्चुगिज लिगमा ४२ गोल गर्दै यस अवार्ड जितेका थिए ।

पाँच पटक गोल्डेन शु जितिसकेका मेस्सीले यस सिजन ३६ गोल गरेर अवार्ड जित्ने सूचीको पहिलो स्थानमा छन् । मेस्सीपछि दोस्रो स्थानको पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेभन्दा ४ गोलले पछि छन् ।

मेस्सी यस सिजन अवार्ड जित्दै लगातार तेस्रो पटक अवार्ड जितेर ह्याट्रिक गर्ने दाउमा छन् । जसका लागि एमबाप्पेले लिगको अन्तिम खेलमा कम गोल गर्नुपर्ने हुन्छ । एमबाप्पेले ३२ गोल गरिसकेका छन् । एमबाप्पेले सिजनको अन्तिम खेल शुक्रबार राति खेल्दैछन् ।

ला लिगामा यस सिजनको खेल सकिएको छ । यता, लिग वानमा भने एक चरणको खेल बाँकी छ । शुक्रबार एम्बाप्पेको टोली पीएसजीले स्टेड रेइम्जविरुद्ध खेल्दैछ । नेपाली समयअनुसार शुक्रबार राति १२ः५० बाट सुरु हुने उक्त खेल एम्बाप्पेका लागि महत्वपूर्ण हुनेछ ।

उक्त खेलमा एम्बाप्पेले चमत्कार देखाएमा उनले आफ्नो करिअरको पहिलो गोल्डेन बुट जित्नेछन् । यसकारण शुक्रबार नै ‘गोल्डेन बुट’को छिनोफानो हुनेछ । एम्बाप्पेले मेस्सीको गोल संख्यासँग बराबरी गर्नका लागि ४ गोल गर्नुपर्छ । यसो गरेको खण्डमा मेस्सी र एम्बाप्पेले गोल्डेन बुट बाँड्नेछन् ।

गोल्डेन शु अवार्डमा सर्वाधिक बढी कब्जा जमाउने खेलाडीमा मेस्सीपछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् । उनले चार पटक यस अवार्डलाई उचालेका छन् । यस सिजनमा भने रोनाल्डो निकै पछि छन् ।

गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन शु अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९÷०१० मा ३४ गोल, २०११/०१२ मा ५० गोल, २०१२/०१३ मा ४६ गोल र २०१६/०१७ मा ३७ गोल गर्दै गोल्डेन शु जितेका थिए ।