गण्डकी प्रदेशसभाको अधिवेशन आज

जनसम्मत
पौष १८, २०७९, सोमबार

गण्डकी प्रदेशसभाको आज (सोमबार) अधिवेशन सुरु हुँदैछ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज (सोमबार) दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्।

अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले यसअघि, विज्ञप्तिमार्फत जनाएका जानकारी दिएका थिए।

आज ११ बजे सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकले नै संसद बैठकको कार्यसूची तय गर्नेछ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा विभिन्न ५ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ। प्रदेशसभामा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एसमा प्रवेश गरेका राजीव गुरुङ सदस्य छन्।

नेपाली काँग्रेसले नेता सुरेन्द्र पाण्डे, एमालेले नेता खगराज अधिकारी, नेकपा माओवादी केन्द्रले नेता हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीले पञ्चमान गुरुङलाई संसदीय दलको नेता चुनिसकेका छन्।

प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन्।