महको ‘दाल भात तरकारी’को ६ करोड भन्दा माथि कमाई

काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो, काठमाण्डौ बाहिर पनि दिनमा ६ शो, चलचित्रले दिनमा अझै पनि १७ शो पाइरहेको छ

जनसम्मत
जेठ ११, २०७६, शनिबार

पोखरा । गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ ।

तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले ६ करोड भन्दा माथि कमाएको बताइएको छ । काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले दिनमा अझै पनि १७ शो पाइरहेको छ ।

तेस्रो सातासम्म आइपुग्दा चलचित्रले ६ करोड २५ लाखभन्दा माथिको कारोबार गरिसकेको छ । झण्डै ३ करोडको लगानीमा बनेको चलचित्रले लगानी भने प्रदर्शन अगावै उठाइसकेको थियो । प्रदर्शनबाट आएको रकम भने पूर्णरुपमा नाफा हो ।

चलचित्रलाई अस्ट्रेलिया र युरोपमा मात्रै ६० लाखमा बिक्री गरिएको थियो । यस्तै, अब अमेरिका, लण्डन, जापान, कोरिया लगायतका देशमा चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । चलचित्रको समीक्षा नराम्रो आएका कारण कारोबारमा १० प्रतिशत असर परेको प्रस्तुतकर्ता किरण केसीले बताए ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीको प्रस्तुतकर्ता किरणका छोरा सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रको क्षेत्रमा सुदनको यो डेब्यू निर्देशन हो ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल सन्दीप क्षत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । राजेश पायल राई, किरण केसी र स्मिता दाहालको स्वर रहेको चलचित्रको गीतमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार सम्भुजित बासकोटाले भरेका छन् ।

मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले खिचेका हुन् । प्रविणसिंह र कविराज गहतराजले सिनेमाको गीतमा कोरियोग्राफी गरेका हुन् । सिनेमामा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल नरेन्द्र कंसाकारलगायतको लगानी छ ।