आहा ! रारा पोखरा गोल्डकप: संकटा सेमिफाइनलमा

मंगलबार मनाङ मस्र्याङ्दी र भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएबीच प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल हुनेछ

जनसम्मत
पौष १८, २०७९, सोमबार

संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आज (सोमबार) भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै संकटाले सेमिफाइनलमा स्थान बनाएको हो।

सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरियो। संकटाको जितमा मेस्सुके, सुरजज्यू ठकुरी र स्टेफेनले गोल गरे।

आर्मीको तर्फबाट भने नवयुग श्रेष्ठले सुरुवाती गोल गरे। नवयुगले १४ मिनेटमै पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दिनेश हेमजनलाई संकटाका निशान खड्काले लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। प्राप्त पेनाल्टीलाई नवयुगले दायाँ बार च्याप्दै गोल गरे।

पहिलो हाफको ३६ औं मिनेटमा संकटाका मेस्सुकेले बराबरी गोल गरे। कप्तान सुनिल बलले डीबक्सभित्र मिलाइदिएको छोटो क्रस बललाई मेसुकेले सहजै गोल गरे।

खेलको ७९ औं मिनेटमा सुरजज्यू ठकुरीले संकटाका लागि दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। स्टेफन बिनोङले प्रहार गरेको सशक्त प्रहार फस्ट बारमा लागेर रिबाउन्ड भएको बललाई सुरजले सहज फिनिसिङ गर्दै गोल गरे।

खेलको इञ्जूरी समयमा स्टेफन बिनोङले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाउँदै जित सुनिश्चित गरे। आर्मीका कीपर बिकेश बिट भएको अवस्थामा स्टेफनको प्रहारलाई युद्ध शाहीले गोल लाइनबाट क्लियर गर्न नसक्दा संकटाको नाममा ३ गोल दर्ज रह्यो।

संकटाका प्रशिक्षक सल्यान खड्गी टोलीको प्रदर्शनदेखि सन्तुष्ट छन्। पछि परेको खेलमा उत्कृष्ट कमब्याकसहित आर्मीको अग्रतालाई तोडेर अन्त्यमा जितको नतिजा निकाल्नु टोली फर्ममा रहेको खड्गीले प्रतिक्रिया दिए। टोलीले बुनेको रणनीतिअनुसार खेलाडीको प्रदर्शनबाट जित संभव रहेको खड्गीको प्रतिक्रिया छ।

उता, पोखरा रंगशाला सधैं अफापसिद्ध बनेको आर्मीका लागि अग्रतालाई जोगाउन नसक्दा हार व्यहोर्नुपरेको प्रशिक्षक नविन न्यौपानेको प्रतिक्रिया छ।

प्रशिक्षक न्यौपानेले भने, ‘प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसक्नु टोलीका लागि हारको अर्को मुख्य कारण बन्यो।
संकटाले अब चर्च ब्वाइजसँग फाइनलका लागि बिहीबार सेमिफाइनल खेल्नेछ।

संकटाका स्टेफन बिनोङ खेलको ‘म्यान अफ दि म्याच’ बने।

भोली, मंगलबार मनाङ मस्र्याङ्दी र भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएबीच प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।