आहा ! रारा पोखरा गोल्डकप: सेमिफाइनल समिकरण पूरा

बीवाइएस्सी युएसए, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रतियोगिताको सेमिफाइनल पुगेको छ

जनसम्मत
पौष १९, २०७९, मंगलवार

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

पोखरा रंगशालामा मनाङ मस्र्याङ्दी र विदेशी भुटनिज स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएबीचको अन्तिम क्वार्टरफाइनल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलबाट विदेशी बीवाइएस्सी युएसएले सेमिफाइनल यात्रा तय गरेको छ।

अब, बीवाइएस्सी युएसएसँगै संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

सेमिफाइनलमा विभागीय एपीएफ क्लबसँग चर्च ब्वाइज युनाइटेड र संकटा क्लबसँग भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसए भिड्नेछ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा विदेशी भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएले ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो।

बीवाइएस्सीले मनाङलाई १–० ले स्तब्ध बनायो।

सो खेलमा बीवाइएस्सीका प्रविन बस्नेतले खेलको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। हेक्टर ओर्टेगाले मिलाइदिएको ब्याक पासको बललाई डी बक्स भित्रबाट प्रविनले रिसिभ गर्दै विपक्षी जाली चुमाए।

प्रविन नै खेलको ‘म्यान अफ दि म्याच’ बने।

भोली (बुधबार) विभागीय एपीएफ र चर्च ब्वाइज युनाइटेडबीच प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुनेछ।