माघको ८ देखि पोखरामा तेस्रो संस्करणको टाइगर कप भलिबल

जनसम्मत
पौष १८, २०७९, सोमबार

आगामी माघको ८ गतेदेखि पोखरामा तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुने भएको छ।

‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

प्रतियोगितामा २ विदेशी क्लबसहित महिला र पुरुषतर्फ गरी ५/५ टिमको सहभागिता रहने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

अध्यक्ष शर्माका अनुसार २ विदेशी क्लबमा महिलातर्फ भारतीय क्लब केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुषतर्फ एसटी जोसेफ वाज स्पोर्ट्स क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउने भएका छन्।

राउण्ड रोबिनको आधारमा संचालन हुने यस प्रतियोगितामा महिलातर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्र्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र होङवान्जी न्यू डायमण्ड स्पोर्टसले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, पुरुषतर्फ एसटी जोसेफ वाज स्पोर्ट्स क्लब श्रीलंका, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशको टिमले प्रतिस्पर्धा गर्नेछन्। गत वर्षको तुलनामा यस वर्ष प्रतियोगिताको पुरस्कार राशीसमेत दोब्बर बनाएको छ।

महिला/पुरुष दुवैतर्फ उपाधी विजेताले समान नगद ५/५ लाख, उप–विजेताले नगद २ लाख ५० हजार, तेस्रो हुनेले नगद १ लाख २५ हजार र चौथोले ६५ हजारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ।

यस्तै, महिला तथा पुरुष दुबैतर्फको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैँया खर्च हुने आयोजकले बताएको छ।