१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

जनसम्मत
पौष १९, २०७९, मंगलवार

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च यही फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ।

प्रतियोगिताको तयारी थालेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

म्याराथनको तयारीबारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए। अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुने उनले बताए। उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले जनाए।

सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए।

म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स) मा दर्ता भएपछि आयोजना हुन लागेको म्याराथन खुलातर्फ पहिलो हुनेले ५ लाख, दोश्रोले ३ लाख, तेश्रोले २ लाख र चौथोले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने जानकारी दिंदै इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन्।

त्यसैगरी, वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुनेछन्। पोखरा म्याराथन अन्तर्गत यो वर्ष एकै पटक २० हजार दौडने लक्ष्य लिइएको आयोजकको दावी छ।

खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पराजुलीले बताए।

महिला हाफ म्याराथनमा समेत पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुनेले नगद १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार पुरस्कार पाउनेछन्। त्यसै गरी ५ किमि महिला तथा पुरुष, ५ किमि छात्र/छात्रा दौड, ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड हुने र सबै दौडहरुमा पुरस्कार राशीमा समेत वृद्धि गरिएको मञ्चले जनाएको छ।

१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७९ लाई व्यवस्थित रुपमा संचालन गर्न २३ वटा विभिन्न उपसमिति गठन गरिएको र पोखरा म्याराथनको कूल खर्च ९३ लाख खर्च हुने आयोजकले जनाएको छ। पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार खर्च हुने आयोजको भनाई छ।

पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ।

त्यसैगरी, पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बैंक बैकिङ पार्टनर रहनेछ।