आहा ! रारा पोखरा गोल्डकपः संकटा फाइनलमा

चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएले फाइनलका लागि बिहीबार अन्तिम सेमिफाइनल खेल्नेछन्

जनसम्मत
पौष २०, २०७९, बुधबार

संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय सशस्त्रको एपीएफ क्लबलाई ४–१ ले पाखा लगाउँदै संकटाले फाइनल यात्रा तय गरेको हो।

१९ संस्करणको विजेता संकटाले सुरुवाती ५ औं मिनेटमै अग्रता लियो। स्टेफन बिनोङले संकटालाई सुरुवाती अग्रता दिलाए। एपीएफका गोलरक्षक राजु नगरकोटीले क्लियर गर्न खोजेको बल स्टेफनसँग रिफ्लेक्ट हुँदै गोल भएको थियो।

एपीएफका गोलरक्षक राजु र डिफेन्डरहरु मनबहादुर र दिपेश धिमालबीच आपसी तालमेल नमिल्दा कमजोरीको फाइदा संकटालाई उठायो।

पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा संकटाले दोस्रो गोल थप्यो। स्टेफनको क्रसबलमा मेस्सुकेले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए। स्टेफनलाई आयुष घलानले पास दिए। घलानले कप्तान सुनिल बललाई पास दिए। सुनिलले मेस्सुकेलाई क्रस बल छाडिदिए। स्टेफनले अनमार्क रहेका मेस्सुकेलाई बल क्रस गरिदिए।

खेलको ६१ औं मिनेटमा स्टेफनले नै व्यक्तिगत दोस्रो गोल गरे र टोलीलाई ३–० को फराकिलो अग्रता दिलाए। स्टेफनले काउन्टर एट्याकमा गोल गरेका थिए।

खेलको ७४ औं मिनेटमा एपीएफका सब्सीच्युट खेलाडी हरि कार्कीले गोलको खाता खोले। आवास लामिछानेको क्रस बलमा हरिले गोल गरेका थिए।

८६ औं मिनेटमा संकटाले गोल थप्यो। आन्द्रे थिएरीको लामो हाइ क्रस बललाई अफसाइड ट्रयाप बिट गर्दै मेस्सुकेले व्यक्तिगत दोस्रो र संकटाका लागि चौथो गोल गरे।

टोटल गेम खेलेर टोलीले सहज जित निकालेको संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीको प्रतिक्रिया छ।

गोलरक्षकदेखि डिफेन्डर, मिडफिल्डर र अट्याकिङमा विपक्षी एपीएफलाई दवावमा राख्न सकेकैले टोलीले सुखद नतिजा निकालेको खड्गीले प्रतिक्रिया दिए। उपाधि जित्नेमा खड्गी ढुक्क छन्।

यता, एपीएफका प्रशिक्षक रत्नकाजी महर्जन भने डिफेन्डिङ लाइनका खेलाडीबीच आपसी कम्बिनेसन मिल्न नसकेकाले टोलीले हार खेपेको श्वीकार्छन्। प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा टोलीको फरक अन्तरमा पराजित बन्नुपरेको रत्नकाजीले बताए। ‘विपक्षी संकटाका विदेशी खेलाडीलाई मार्किङ गर्न नसक्नु टोलीका लाग दुर्भाग्य भयो’ उनले प्रतिक्रिया दिए।

संकटाकै स्टेफन बिनोङ ‘म्यान अफ दि म्याच’ बने।

भोली, बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएले फाइनलका लागि अन्तिम सेमिफाइनल खेल्नेछन्।

चर्च ब्वाइज युनाइटेडले लिग विजेता मच्छिन्द्र फुटबल क्लब र (बीवाइएस्सी) युएसएले मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनल यात्रा गरेको हो।