आहा ! रारा पोखरा गोल्डकपको फाइनल आज

उपाधिका लाग संकटा र पाहुना टोली बीवाइएस्सी फाइनल खेल्दै

जनसम्मत
पौष २३, २०७९, शनिबार

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो साढे एक बजे हुँदैछ।

काठमाण्डौंको संकटा फुटबल क्लब र पाहुना टोली अमेरीकाको भुटनिज युथ स्पोटर्स क्लब (बिवाइएस्सी) ले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्।

दुबै टोली उपाधि जित्ने रणनीति र दाउमा छन्। संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने बीवाइएस्सी पहिलो पटक उपाधि जितेर इतिहास रच्ने रणनीतिमा छ।

राष्ट्रिय टोली र केही विदेशी खेलाडीहरु सम्मिलित संकटाको टिम सन्तुलित छ। संकटाका प्रशिक्षक सल्यान खड्गीले हिँजो (शुक्रबार) पोखराको लेकसाइडमा आयोजित पोष्ट म्याच कन्फरेन्समा जित्नेगरी खेल्ने बताएका छन्। आफूहरुले टेक्निकल्ली र ट्याक्टिकल्ली खेल पस्कने खड्गीको भनाई छ।

संकटाका कप्तान सुनिल बलले पाहुना टोलीले अघिल्ला खेलमा निकै राम्रा टिमलाई पराजित गर्दै फानइनलमा यात्रा बनाएकोेले उनीहरु बिरुद्ध जित निकाल्न निकै मेहनत गर्नुपर्ने बताए।

भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएका प्रशिक्षक प्रदिप हुमागाई भने संकटासँगको खेलमा टोलीको प्रदर्शन उच्च रहने बताउँछन्। आफूहरु जित्नकै लागि फाइनल खेल्ने प्रशिक्षक हुमागाईले प्रतिक्रिया दिएका छन्। थ्रीस्टारको प्रशिक्षक रहँदा एक पटक यहाँबाट उपाधि उचालिसकेको सम्झदैँ हुमागाईले यस पटक पनि उच्च मनोबलका साथ बीवाइएस्सीले फाइनलमा खेल पस्कने दाबी गरे।

बिवाइएस्सीका कप्तान पुजनथापा मगरले आफूहरु नेपालको राम्रो टिमसँग पोखरामा फाइनल खेल्न पाउनु नै ठूलो यपलब्धि भएको बताए। फाइनल खेल निकै रोमान्चक हुने पुजनको दाबी छ।

संकटा १९ औं संस्करणको च्याम्पियन हो। त्यतिबेला संकटाले विदेशी टोली अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ ले स्तब्ध पार्दै उपाधि जितेको थियो। निर्धारित समयमा १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो। सिधै क्वार्टरफाइनल खेलेको संकटाले त्यस संस्करणमा मनाङ मस्र्याङ्दीलाई १–० र सेमिफाइनलमा एपीएफलाई २–० ले पाखा लगाउँदै फाइनल यात्रा गरेको थियो।

बीवाइएस्सीले भने यस योसँगै दोस्रो पटक सहभागिता जनाउँदैछ । गत वर्ष पहिलो खेलबाटै बीवाइएस्सी घर फर्किएको थियो।

अमेरीकाको बिवाइएससीले पोखरा रंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा आहा रारामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइज युनाइटेड फुटवल क्लवलाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा गरेको हो। यसअघि बिवाइएस्सीले क्वाटरफाइनलमा मनाङ मस्याङदी क्लवलाई पराजित गरेको थियो।

संकटाले भने क्वार्टरफाइनलमा विभागीय सेनाको त्रिभुवन आर्मी क्लब र सेमिफाइनलमा पनि विभागीय नै सशस्त्रको एपीएफ क्लबलाई पाखा लगाउँदै फाइनल यात्रा गरेको हो।

प्रतियोगिताका म्याच कमिस्नर कृष्ण थापाले यस प्रतियोगिताको हालसम्म २० गोल भएको बताए। प्रतियोगितामा एउटा मात्र रेड कार्ड, २८ वटा पहेलो कार्ड देखाइएको बताए।

प्रतियोगिताका विजेताले उपाधि सहित १२ लाख र उपविजेताले ६ लाख नगद पुरस्कार जित्नेछ।

सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कूटर पाउनेछ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले समान २५÷२५ हजार पुरस्कार पाउनेछन्। फाइनल खेलको ‘म्यान अफ दि म्याच’ पुरस्कार १० हजार रहेको छ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको छ। कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङसहितका अतिथिहरुको उपस्थिति रहनेछ।