संकटालाई दोस्रो पटक आहा ! रारा गोल्डकपको उपाधि

संकटाका कप्तान सुनिल बल उत्कृष्ट खेलाडी, जिते इलेक्ट्रिक स्कूटर

जनसम्मत
पौष २३, २०७९, शनिबार

काठमाण्डौंको संकटा फुटबल क्लबले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

संकटाले आज (शनिबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) लाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो।

उपाधिसँगै संकटाले १२ लाख पुरस्कार जितेको छ। उपविजेता बनेको बीवाइएस्सीले ६ लाख पुरस्कार जित्यो।

संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके र कप्तान सुनिल बलको योगदान रह्यो। त्यस्तै बीवाइस्सीका तर्फबाट भने रेने सान्तलिन र विल्स ग्रिफिथले गोल गरे। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि अतिरिक्त समयको २५ औं मिनेटमा संकटा कप्तान सुनिल बलले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे। मेस्सुकेको पासमा सुनिलले डी बक्सभित्रबाट गोल गरेका थिए।

खेलको वसुरुवाती आठौं मिनेटमै संकटाले अग्रता लियो। निशान खड्काको प्रहारलाई बीवाइएस्सीका कीपर पुजनले बचाउ गरेको रिबाउन्ड बलमा अनमार्क रहेका सुरजज्यूले उत्कृष्ट गोल गर्दै संकटालाई अग्रता दिलाए।

३५ औं मिनेटमा कप्तान सुनिल बलको पासमा मेस्सुकेले उत्कृट हेड गर्दै संकटालाई दोब्बर अग्रता दिलाए।

उता, २ गोलले पछि परेको बीवाइएस्सीले खेलमा फर्कियो। संकटाको दोब्बर अग्रतालाई छोट्याउँदै बीवाइएस्सीले ३७ औं मिनेटमा गोल फर्कायो। मिगेल पालाफक्सको पासमा रेने सान्तलिनले गोल फर्काउँदै टोलीलाई हौस्यायो। पहिलो हाफको अतिरिक्त समयमा विल्स ग्रिफिथले गोल गरे। ग्रिफिथले धिरज थाजलीको फ्रीकिकमा गोल गरे।

संकटाका मेस्सुकै फाइनल खेलको ‘म्यान अफ दि म्याच’ बने।

संकटाले यसअघि १९ औं संस्करणको पहिलो उपाधि जितेको थियो। संकटाले त्यतिबेला पनि विदेशी अफ्रिकन रुट्स क्लबलाई टाइब्रेकरमा ४–२ ले पाखा लगाउँदै उपाधि जितेको थियो। निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।

संकटाका कप्तान सु्निल बल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै एक थान इलेक्ट्रिक स्कूटर पुरस्कार जिते।

संकटाकै मेस्सुके सर्वाधिक गोलकर्ता बन्दै २५ हजार पुरस्कार जिते। मेस्सुकेले प्रतियोगितामा ४ गोल गरे।

उत्कृष्ट ५ विधाका पुरस्कारहरुमा पनि संकटाकै खेलाडीहरु हावी भए। संकटाका गोलकीपर टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकीपर बने।

बीवाइएस्सीका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर बने। संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर बने। संकटाकै स्ट्राइकर स्टेफन बिनोङ उत्कृष्ट स्ट्राइकर बने। संकटाका सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरु सबैले समान २५ हजार पुरस्कार जिते।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको फाइनल खेलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायतको उपस्थिति थियो। घिसिङ र नेम्बाङले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे।