आन्तरिक राजश्व वृद्धि गरेको अर्थमन्त्री बरालको दाबी

जनसम्मत
पौष २४, २०७९, आइतबार

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको आन्तरिक राजश्व बृद्धि गरेको दाबी गरेका छन्।

करिब करिब मन्त्रीबाट विदा हुने अवस्थामा पुगेका मन्त्री बरालले मन्त्रालयमै आज (आइतबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो बताएका हुन्।

मन्त्री बरालले आफ्नो डेढ वर्षको छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको दाबी गरे।

राजश्व अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हिसाबले आर्थिक ऐनमा राजश्वको दर र दायरामा प्रगतिशील करको सिद्धान्तलाई आधार मानेर परिमार्जन गर्दा आफू केही आलोचित भएपनि त्यसले समग्र प्रदेशको आन्तरिक श्रोत बृद्धि हुुने उनले दाबी गरे।

‘यस अभियानले गर्दा प्रदेश सरकारको राजश्वमा तुलनात्मक हिसाबले गुणात्मक वृद्धी हुने निश्चित छ भने जसले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पु¥याउने नै छ,’ मन्त्री बरालको दाबी छ।

उनले साना तथा टुक्रे योजनालाई निरुत्साहित गर्न खोजेको उल्लेख गरे।

‘थोरै बजेटले धेरै योजनामा बजेट विनियोजन हुँदा प्रभावकारी बन्दैन’, मन्त्री बरालले स्पष्ट पारे, ‘ गत आर्थिक बर्षहरुको बजेट कार्यक्रमको तुलनात्मक अध्ययन गर्दा हामीले बजेट निर्माण गर्दा सानो र टुक्रे योजनाहरुलाई निरुत्साहित गर्दै ठूला, परिणाममुखी योजना निर्माणतर्फ ध्यान दिन खोजेको संकेतहरु प्रष्ट रुपमा देखिन्छ।’

५ करोड भन्दा मुनिका योजनाहरुलाई सम्बन्धित मन्त्रालयमा उपलब्ध हुने स्रोतको र प्राथमिकताको आधारमा व्यवस्था हुनेगरी सो भन्दा माथिका मात्र योजनाहरुलाई बहुबर्षीय योजनाको रुपमा लैजाने सक्ने व्यवस्था गरेको मन्त्री बरालले स्पष्ट पारे।

३ तहका सरकार भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्याक्रम धेरै आवश्यकता नभएको ठानेर बजेट तथा कार्यक्रममा नल्याएको उनको स्पष्टोक्ति छ। तर, त्यसलाई पछि राख्नुपर्छ भन्ने माग भएपछि भने पूर्वाधार विकास कार्यक्रम भनि ल्याउने तयारी गरिएको मन्त्री बरालले बताए।

‘हिँजो काठमाण्डौं केन्द्रीय राज्य प्रणालीले ल्याएको नियम अब पनि पालना गर्नु पर्छ भन्ने आफ्नो मान्यता थिएन’, उनले स्पष्ट पारे, ‘आफुले कार्यान्वयन गर्न खोजेको उक्त अभियान आफ्नो पालामा लागू भएको भए व्यक्तिगत रुपमा थप खुशी हुने थिएँ।’

मन्त्री बरालले आफू २०७८ श्रावण ८ गते गण्डकी प्रदेशको अर्थमन्त्रीको रुपमा कार्यभार सम्हालेको उल्लेख गरे।

उनले भने, ‘आर्थिक स्थायित्व र विकास गर्न आफूले केही प्रयास गरेँ।’

गण्डकी प्रदेशमा अब आउने नयाँ सरकार र मुख्यमन्त्री तथा मन्त्रीहरुलाई समेत मन्त्री बरालले अग्रिम शुभकामना दिए। शुभकामनाको साथमा प्रदेशका गौरवका योजनालाई प्रथामिकता दिन उनको. आग्रह थियो।