प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ३ माथि ४१ रनले एपीएफको जित

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रन बनायो

एजेन्सी, जनसम्मत
जेठ १२, २०७६, आइतबार

पोखरा । एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश नं ३ लाई ४१ रनले हरायो ।

प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु ३ विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख ७ तथा शंकर रानाले मात्र १ रनमा पेभेलियन फर्किए ।

त्यसपछि प्रदीप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा ऐरीले ४० रन बनाएर आउट भए । त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको दरिलो साझेदारी गरेपछि एपीएफको पारी बलियो बन्यो । सुमित सतक बनाउनेबाट मात्र ६ रनले चुके ।

सुमितले १०३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ९४ रन बनाए । यस्त,ै पृथुले ५८ बलमा ५९ रन बनाए । जसमा ३ चौका र १ छक्का सामेल थियो । यस्तै भुवन कार्कीले १५ रनको योगदान गरे ।

जवाफमा मध्यम सुरुवात गरेको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ४७ रन मात्र बनाउन सक्यो । उसका लागि ज्ञानेन्द्र मल्लले ११७ रन बनाएपनि टिमका लागि जित पर्याप्त बनेन । यस्तै, कप्तान पारस खड्काले ४६ तथा रित गौतमले २७ रन बनाए । उसका लागि जितेन्द्र शाही ठकुरीले १२ रन बनाए ।