११ औं पोखरा महोत्सवको तयारी पूरा

जनसम्मत
पौष २५, २०७९, सोमबार

११ औं पोखरा महोत्सवको संपूर्ण तयारी पूरा भएको छ।

आयोजक युनाइटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको महोत्सवको संपूर्ण तयारी पूरा भएको जनाएको हो।

११ औं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहशिक पर्यटकीय गन्तब्य निर्माण र युनाइटेड क्लवको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्राबास निर्माणलाई जोड दिइने क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार क्लवले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ। महोत्सवमा प्रत्येक टिकटबाट १ रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याइने छ।

१३ दिनसम्म संचालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र २ लाखभन्दा बढि दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ।

महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ लैजाने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारणसमक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानबारे जानकारी दिदैँ आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको क्लवका महासचिव तथा महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिएका छन्।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्रि, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्रि, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्रि वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतीसँगै कृषिका गतिविधिहरु संचालन हुनेछन्।

महोत्सवको आकर्षणमा लोकदोहोरीतर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खाँड, प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खानलगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ।

कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इञ्जिन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुति रहने छ।

त्यसैगरी, हांस्यब्यंग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, झाँकी प्रदर्शनीलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिएका छन्। त्यसैगरी, थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको ब्यवस्था, भीआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु हुनेछन्।

११ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, युनाइटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काई लिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ।

त्यसैगरी, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि., आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ।

प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ।

त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ।

त्यसैगरी, मिडिया पार्टनरहरुमा एबीसी न्यूज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छन्।

महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाकसहित) हरुलाइ निः शुल्क प्रवेश गराइने छ।

महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले बुधवार दिनको साढे १२ बजे उद्घाटन गर्नेछन्।