महोत्सवले आर्थिक चलायमान हुन्छः मुख्यमन्त्री अधिकारी

जनसम्मत
पौष २७, २०७९, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मेला महोत्सवले आर्थिक चलायमान हुने बताएका छन्।

पोखराको अमरसिंह चौरमा आज (बुधवार) देखि सुरु ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्छ। मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहँदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्छ।’

मुख्यमन्त्री अधिकारीले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको उल्लेख गरे।  मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत उनले आग्रह गरे।

‘युवाहरुलाई स्वदेशमै रोक्नका लागि पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पादन आवश्यक छ’, उनले थप स्पष्ट पारे, ‘मेला महोत्सवहरुले स्थानीय भाषा, संस्कृतिको उत्थान समेत गर्छ।’

गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको उल्लेख गरे। युनाइटेड क्लबले लिएको उद्देश्यअनुसारको गतिविधिमा सहयोग र साथ दिने उनको प्रतिबद्धता थियो।

‘गण्डकी प्रदेशमा आर्थिक र पर्यटकीय गतिविधी बढाउनका लागि पोखरा महोत्सवले उल्लेख्य भूमिका खेलेको छ’, उनको स्पष्टोक्ति थियो।

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदँै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे।

‘महोत्सवकै आयोजना गरी सामाजिक कामसँगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि वढ्नु आफैमा चुनौती छ’, कार्कीले जोड दिए, ‘यसका लागि संपूर्ण पोखरेलीले क्लबलाई सहयोग गर्नुपर्छ।’

त्यस्तै, गण्डकी प्रदेश सभा सदस्य प्रकाश वरालले उद्देश्य सवैले लिएपनि पूरा गर्न गाह्रो हुने वताए।

‘युनाइटेड क्लव आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब हो’, बरालले स्पष्ट पारे।

कास्कीमा धेरै संस्थाहरु दर्ता र नविकरणकै बीच हराइरहँदा युनाइटेड क्लव एकमात्र गण्डकी प्रदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको बरालले वताए।
‘पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभई सेती नदीबारे कोही कसैले चासो दिएको छैन’, बरालले भने, ‘क्लवले पहल कदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि वढिरहेको छ। त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक छ।’

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्धवहादुर गुरुङले युनाइटेड क्लवसँग आफूले स्थापना कालदेखिनै सहकार्य गर्दै आइरहेको बरालले उल्लेख गरे।

‘युनाइटेड क्लबले छोटो समयमानै आफूलाई स्थापित बनाउन सफल भएको छ’, उनले प्रतिबद्धता जनाए, ‘आगामी दिनमा पनि साथ र सहयोग रहन्छ।’ संपूर्ण वडाहरुको प्रतिनिधित्व गर्दै पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सवमार्फत आर्थिक चलायमानसँगै कला, संस्कृतिको जगेर्ना हुने वताए।

‘युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहेको छ’, बास्तोलाको प्रतिबद्धता छ, ‘आगामी दिनमा आफ्नो वडासँगै महानरबाट समेत सहयोगका लागि पहल गर्नेछु।’

त्यस्तै, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखिने उल्लेख गरे।

‘सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाइनेछ’, शाहीले स्पष्ट पारे।

त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी वरालले युनाइटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहेको बताए।

‘अमरसिंह माविले समेत क्लबसँग सामाजिक काममा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउँदा खुसी लागेको छ’, बरालले प्रतिबद्धता जनाए, ‘युनाइटेड क्लबको हरेक गतिविधिमा सहकार्य गरेर अगाडि वढ्नेछौं।’

त्यस्तै, कोलपाटन आमा समूहकी अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघसंस्थाहरुलाई सहभागी बनाएर आफूहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको वताइन्।

युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले ११ औं संस्करणसम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको बताए।

उनले थपे, ‘११ औं महोत्सवदेखि पोखराको बीच भाग भएर बग्ने सेती नदिलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गरिनेछ। र, आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवासीय ब्यवस्थासहितको शिक्षालय निर्माण गर्नतर्फ लाग्नेछौं।’

शिक्षा, स्वास्थ्य, खेलकुदका गतिविधि समेतलाई निरन्तरता दिने उनको भनाइ थियो ।

युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तब्य र महासचिव दिनेश सुनारले कार्यक्रम संचालन गरेका थिए।

युनाइटेड क्लवले वर्षेनी महोत्सव आयोजनालाई निरन्तरता दिदैँ आएको छ।