तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु

पुरुषतर्फ गण्डकी र सशस्त्र प्रहरीको एपीएफ तथा महिलातर्फ आर्मीको विजयी सुरुवात

जनसम्मत
माघ ८, २०७९, आइतबार

पोखरामा आज (आइतबार) देखि तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा महिलातर्फ आर्मीले विजयी सुरुवात गरेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुषतर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै सुखद नतिजा निकालेको छ।

स्पाइक, ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुषतर्फको प्रतिस्पर्धामा आइतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा हराउँदै महत्वजपूर्ण ३ अंक जोड्न सफल भएको हो। गण्डकीले पुलिसलाई २५–२३, २५–२० र २५–१६ ले हरायो।

पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो। पहिलो सेट २५–२० मा जित निकालेको आर्मीले दोस्रो, तेस्रो र चौथो सेट भने सशस्त्र प्रहरीलाई सुम्प्यो। सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीलाई हरायो।

टाइगर ग्रुप नेपाल पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा महिलातर्फ न्यूडायमण्डलाई नेपाल आर्मीले सोझो सेटमा जित निकालेको छ।

महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमले ५/५ लाख रुपैया नगद, उपविजेता टिमले समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमले नगद १ लाख २५ हजार र शान्त्वना हुने टिमले नगद ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकार दिएका छन्।

त्यस्तै, महिला तथा पुरुषतर्फ उत्कृष्ट १÷१ जना खेलाडीले जनही समान नगद २५/२५ हजार पाउनेछन्। हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई समान १०/१० हजार नगद र ट्रफीसहित सम्मान गर्ने शर्माले जानकारी दिए।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन्।