टाइगर कप भलिबलः महिलातर्फ एपीएफको जित

पुरुषतर्फ आर्मी र एपीएफ बिजयी

जनसम्मत
माघ ९, २०७९, सोमबार

पोखरामा सुरु तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी छ।

प्रतियोगिताअन्तर्गत आज (सोमबार) भएको महिलातर्फको खेलमा बलियो विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जित निकालेका छन्।

प्रतियोगितामा महिलातर्फ विभागीय एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा जित निकालेको छ। पहिलो सेट २५–११ ले जितेको एपीएफले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१६ ले जित्दै विजयी सुरुवात गरेको हो।

उक्त खेलमा एपीएफकी सरस्वती चौधरी ‘म्यान अफ द वुमन’ भइन्। प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, सशस्त्र प्रहरी वलको एपीएफ क्लव, र होङ्वान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब छन्।

आज (सोमबार) नै भएको पुरुषतर्फको खेलमा विभागीय नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–० को सोझो सेटमा जित निकाल्यो। त्यस्तै, विभागीय एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा हरायो।

प्रतियोगिताअन्तर्गत सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंकालाई पहिलो सेट २५–२० मा हराएको सेनाको त्रिभुवन आर्मीले दोश्रो सेट २५–१६ र तेश्रो सेट २५–१० मा जित निकाल्यो। जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित हो। पाहुना टोलीलाई हराएसँगै आर्मीले महत्वपूर्ण ३ अंक बटुलेको छ। उक्त खेलमा आर्मीका मानबहादुर श्रेष्ठ ‘म्यान अफ दि म्याच’ र आर्मीकै धनबहादुर भट्ट ‘वेष्ट स्पाइकर’ बन्दै गिफ्ट भौचर र नगद पुरस्कार जिते।

अर्को खेलमा बलियो विभागीय एपीएफले नेपाल पुलिसमाथि जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको छ। जारी लिगमा एपीएफको यो दोश्रो जित हो। एपीएफले २ खेल लगातार जित्दै महत्वपूर्ण ६ अंक बटुलेको छ। पुलिसविरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोश्रो सेटमा भने २१–२५ ले पुलिसलाई सुम्प्यो। तेश्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पकड जमाउँदै एपीएफले खेल जित्यो।

उक्त खेलमा एपीएफका विजय थापा ‘म्यान अफ दि म्याच’ र एपीएफकै टेकराज अवस्थी ‘बेस्ट स्पाइकर’ बन्दै गिफ्ट भौचर र नगद पुरस्कार जिते।