‘चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ’

जनसम्मत
माघ १०, २०७९, मंगलवार

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका संचालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन्।

प्रेस काउन्सिल नेपालको आज ( मंगलबार) अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्।

प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका संचालक र सम्पादकलाई अभिमुखीकरण कक्षा संचालन गर्दै आएको छ।

मन्त्री शर्माले आमसंचारसँग जोडिएको मुख्य मन्त्रालय भएको कारण संचार मन्त्रालय भन्नु नै आमसंचार मन्त्रालय हो भन्ने बुझाई रहने गरी मन्त्रालयले काम गर्ने बताइन्।

उनले प्रेस काउन्सिल नेपाललाई आवश्यक सबै सहयोग गर्न मन्त्रालय तयार रहेको बताइन्। आमसंचार क्षेत्रलाई आचारसंहिताको पालनासहित जिम्मेवार बनाउन काउन्सिल थप सक्रियतापूर्वक लाग्नुपर्ने मन्त्री शर्माको भनाई थियो।

उक्त अवसरमा मन्त्री शर्माले काउन्सिलले बनाउन लागेको प्रेस संग्रहालयसमेतको अवलोकन गरिन्। मन्त्री शर्माले संग्रहालहालयमा आमसंचार माध्यमका प्राचीन माध्यमहरूको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताइन्। यसलाई पूर्णता दिन बजेट व्यवस्थापनका लागि मन्त्रालयले पहल गर्ने मन्त्री शर्माको भनाई छ।

उनले संचारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताइन्।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गरे।

उनले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराए। काउन्सिल लगायत आम संचार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गरे।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ आगाडि बढाइने जानकारी दिए।

काउन्सिलका सदस्य सचिव शंकर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिको लागि सहयोग गर्न आग्रह गरे।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराए।

यस्तै, उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणालीलगायतका विषयमा जानकारी गराए।