टाइगर कप भलिबल: महिलातर्फ सेमिफाइनल समीकरण पूरा

महिलातर्फ, सेमिफाइनलमा एपीएफ र गण्डकी तथा आर्मी र न्यू डायमण्ड खेल्नेछन्

जनसम्मत
माघ ११, २०७९, बुधबार

पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी महिलातर्फको राउण्ड रोविन लिगका खेल सकिएका हुन्।

घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड सहभागी प्रतियोगितामा सबै टोली सेमिफाइनल खेल्ने भएका छन्।

जस अनुसार ३ खेलमा ३ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले सबै खेल हारेर अन्तिम अथवा चौथों स्थानको गण्डकी प्रदेशसँग खेल्नेछ।

यस्तै, २ खेल जित्दै ६ अंक जोडेको त्रिभुवन आर्मीले एक खेलेर जितेर ३ अंक जोड्दै तेस्रो बनेको न्यू डायमण्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेल बिहीबार हुनेछ।

बुधबार भएको महिलातर्फको खेलमा न्यू डायमण्डले पहिलो जित निकाल्न सफल बन्यो। न्यू डायमण्डले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। गण्डकीले खेलको पहिलो सेट जितेको खेलमा त्यसपछि न्यू डायमण्डले लगातार ३ सेट जित्दै खेल आफ्नो पक्षमा पारेको थियो। पहिलो सेट २५–१९ ले जितेको गण्डकी त्यसपछिका सेटमा २५–१५, २५–१४ र २५–११ को स्कोरमा पराजित बन्यो।

महिलातर्फकै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ कै सेटमा पराजित गरेको छ। एपीएफले आर्मीलाई २५–१७, २२–२५, २५–१६ र २५–१५ को स्कोरमा हराएको हो। यस खेलसँगै महिलातर्फको प्रतियोगितामा समूह चरणका खेल सकिएका छन्।

पुरुषतर्फको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्यो। पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले विभागीय टोली आर्मीमाथि ३–२ सेटको जित निकालेको हो।

आर्मीले पहिलो सेट जितेको खेलमा त्यसपछि गण्डकीले निखारिएको प्रदर्शन गर्दै खेलमा फर्किएको थियो। पहिलो सेट गण्डकीले २५–२३ ले गुमाएको थियो। दोस्रो सेटमा भने नतिजा उल्टाउँदै गण्डकीले आर्मीमाथि २५–२३ कै जित निकाल्न सक्यो। तेस्रो सेटमा भने आर्मी गण्डकीमाथि हावी बन्यो। तेस्रो सेटमा आर्मीले २५–२३ ले जितेपछि गण्डकीले चौंथो सेटमा आर्मीमाथि २५–२२ को जित निकाल्यो। चौंथो सेटसम्म २–२ को बराबरी भएपछि खेल अन्तिम सेटमा पुगेको थियो। उक्त सेटमा गण्डकीले आर्मीमाथि १५–१३ को जित हासिल गर्‍यो।

गण्डकीले योसँगै प्रतियोगितामा ५ अंकका साथ पुरुषतर्फ समूह चरणमा दोस्रो स्थानमा कब्जा जमाएको छ। यसअघि दोस्रो स्थानमा रहेको आर्मी ४ अंकका साथ समूहको तेस्रो स्थानमा झरेको छ।

पुरुषतर्फको अर्को खेलमा भने नेपाल एपीएफ क्लबले चौंथो जित निकालेको छ। एपीएफले श्रीलंकाको टोली सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई सोझो ३ सेटमा हराउँदै प्रतियोगितामा लगातार चौंथो जित निकालेको हो। ३ वटै सेटमा एपीएफले सेन्ट जोशेफलाई २५–२३ को अन्तरमा हराएको हो।

समूह चरणको सबै खेल जितेको एपीएफ १२ अंकका साथ शीर्ष स्थानमा छ। कुनैपनि खेल नजितेको सेन्ट जोशेफ अन्तिममा रहँदा १ खेल जित्दै पुलिस चौथो स्थान ओगट्न सफल बनेको हो।

प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ विजेता टिमले ५–५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौंथो हुने टिमले सान्त्वना स्वरुप ६५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितामा खेलका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगद र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्नेछन्।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक विधाका उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकलाई १०/१० हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ।

बिहीबार महिलातर्फको पहिलो सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड फाइनल प्रवेशका लागि खेल्नेछन्।

पुरुषतर्फको समुह चरणको खेलमा गण्डकीले सेन्ट जोशेफको सामना गर्दा त्रिभुवन आर्मी र नेपाल पुलिससँग खेल्नेछ।