अनिश र विश्वरुपाले जिते कान्तिपुर हाफ म्याराथनको उपाधि

अनिशले निर्धारित दुरी १ घण्टा ८ दशमलव ४ मिनेट, विश्वरुपाले निर्धारित दुरी १ घण्टा २३ मिनेट २८ सेकेण्डमा पूरा गरिन्

एजेन्सी
जेठ १२, २०७६, आइतबार

काठमाडौं । अनिश थापा मगर र विश्वरुपा बुढाले कान्तिपुर हाफ म्याराथनको उपाधि हात पारेका छन् ।

कान्तिपुर पब्लिकेसनद्वारा शनिबार आयोजित नवौं संस्करणको उक्त प्रतियोगिताअन्तर्गत पुरुष स्पर्धामा अनिशले निर्धारित दुरी १ घण्टा ८ दशमलव ४ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । उपाधिसहित उनले रु ५० हजारसहित डुएटको स्कूटर प्राप्त गरे ।

त्यस्तै, महिला स्पर्धामा प्रथम स्थान हासिल गरेकी विश्वरुपाले निर्धारित दुरी १ घण्टा २३ मिनेट २८ सेकेण्डमा पूरा गरिन् । उनले उपाधिसहित रु ५० हजार र डुएटको स्कूटर प्राप्त गरिन ।

सोही स्पर्धाको पुरुषतर्फ दुर्गा बुढा दोस्रो भए भने आर्मीका कृष्णा बस्नेत तेस्रो भए । महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठ दोस्रो तथा सशस्त्र प्रहरी बल, एपएफकी बिना देसार तेस्रो बनिन् ।

दुवै स्पर्धाका द्धितिय हुने खेलाडीले जनही ३० हजार रुपैयाँ प्राप्त गरे भने तृतीय स्थान हासिल गरेका खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गरे । सो हाफ म्याराथन थापाथलीबाट शुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, ठिमी, सल्लाघारी चोकबाट फर्किएर सोही रुट हुँदै थापाथली आएर सम्पन्न भएको थियो ।

त्यस्तै, ह्विलचेयरतर्फ पुरुषमा रामबहादुर तामाङ पहिलो, प्रेम विक द्धितिय र मोहनबहादुर बस्नेत तृतीय भए । महिला स्पर्धामा याम झाँक्रीमगर पहिलो भइन् भने रजनी राई द्धितिय तथा बबिता थापा तृतीय भइन् । दुबै प्रतिस्पर्धामा पहिलो हुनेले जनही २० हजार रुपैयाँ, द्धितिय हुनेले १० र तृतीय हुने खेलाडीले ५ हजार रुपैयाँ हात पारे ।

५ किलोमिटर कर्पोरेट एण्ड मिडिया अन्तर्गत पुरुष स्पर्धामा राजेश खड्का पहिलो, अजय तामाङ द्धितिय र उत्तम श्रेष्ठ तृतीय बने । सोही स्पर्धाको महिलामा काजल बिष्ट पहिलो, जुनेली सुनार द्धितिय र सुनिता गौतम तृतीय भए ।

कर्पोरेटतर्फका विजेता खेलाडीले बैंककमा ३ रात र ४ दिनको भ्रमण प्याकेज प्राप्त गरेका छन् भने द्धितिय हुनेले पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तृतीय हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरे ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एक कार्यक्रबीच उक्त प्रतियोगिताको उद्टन गरेका थिए ।