पोखरा महानगरमा मेयर–विद्यार्थीको अन्तरसंवाद

प्राविधिक शिक्षा एकातर्फ ज्ञान अर्कोतर्फ

जनसम्मत
माघ १२, २०७९, बिहीवार

पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तरसंवाद गरिएको छ।

प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसरलगायतका विषयमा केन्द्रीत अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था/संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाए।

कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखे। जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिहरूको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाए।

प्राविधिक शिक्षा हासिल गरेका कुनैपनि विद्यार्थीहरू बेरोजगार हुननपर्ने आचार्यको भनाई थियो। उनले व्यवसाय गर्न चाहनेहरूका लागि स्टार्ट–अप अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रमहरू महानगरपालिकाले गरिरहेको उल्लेख गरे।

‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ, प्रमुख आचार्यले भने, ‘महानगरले बेरोजगारहरूको डाटा संकलनका लागि आह्वान गरिरहेको छ, केही वडाहरूमा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदनहरू एकदमै कम परिरहेको छ।’

प्रमुख आचार्यले प्राविधिक शिक्षाको महत्व बुझाउन आवश्यक रहेकोमा जोड दिए। उनले ज्ञान एकातिर काम अर्कोतिर हुने अवस्थाको अन्त्य जरुरी रहेको समेत बताए।

यसका लागि ‘राइट मेन, राइट प्लेस’को अवधारणामा काम गर्ने तयारी महानगरको रहेको प्रमुख आचार्यले बताए।

प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सीटीइभीटी) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाको महत्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको उल्लेख गरे।

‘हाम्रो प्राविधिक शिक्षाको महत्व के हो भने, काम गर्दै अलिकति आय–आर्जन गर्दै आफ्नो करिअरलाई अगाडी बढाउँदै लैजाने हो, निर्देशक आचार्यले भने, ‘आफ्नो ज्ञानको स्तरलाई बढाउँदै लैजानुहोस्, प्राविधिक शिक्षा समयको वेगसँगै यसको महत्व बढिरहेको छ।’

गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीति मै सुधारको आवश्यकता रहेको बताए।

राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भैसकेको जनाउँदै उनले अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउने प्रष्ट पारे। प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यालयका प्राध्यानाध्यापकहरुले प्राविधिक शिक्षाको सुधारमा सरकारले अझ बढी समन्वय गर्न आवश्यक रहेको उनको भनाई थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गरेको भएपनि विभिन्न वाहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरे।

कयौँ समयसम्म इन्टर्नसीपका नाममा पारिश्रमिक नदिई काममा लगाउने, दिएपनि असाध्यै कम पारिश्रमिक दिने, आफूहरूको क्षमताअनुसारको काम नपाउने लगायतका समस्याहरू आफूहरूले झेल्नु परेको सुनाए।

कार्यक्रममा उपेन्द्र पौडेलले सहजिकरण गरेका थिए।