संघीयता र रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको निर्देशन

जनसम्मत
माघ ११, २०७९, बुधबार

गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन्।

सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको बिकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गरेका छन्।

अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिएका छन्। योजनाको बर्गिकरण गरी संघ, प्रदेश र स्थानीय तहको कार्यबिभाजन बिना परिणाम नआउने भएकाले योजना बर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनले सो अबसरमा उल्लेख गरे।

टुक्रे र परिणामबिहिन योजनाले गण्डकी प्रदेशको बिकास संभव नहुने भएकाले दिर्घकालीन रुपमा रणनीतिक योजनामा प्रदेशले काम थाल्ने उनको भनाई थियो।

अहिलेको आधुनिक युगमा सेवाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको मन्त्री चुमानले बताए। लामो लाइन बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अबस्था अन्त्यका लागि काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए।

पदभार ग्रहण गर्दै मन्त्री चुमानले गण्डकी प्रदेशमा बिद्युतीय सवारी संचालनसम्बन्धी मापदण्ड तयार गरी लागु गर्ने निर्णय गरेका छन्।

हालसम्म सार्बजनिक रुपमा बिद्युतीय सवारी संचालनका लागि कुनैपनि मापदण्ड नभएकाले एक महिनाभित्र मापदण्ड तयार गर्ने निर्णय भएको छ।

त्यसैगरी, गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने सम्बन्धी निर्णय भएको छ। पदभारकै क्रममा गण्डकी प्रदेश बुद्धसिंह मार्गमा पर्ने तनहुँस्थित बन्दीपुर गाउँपालिका ६ कुचिलाफेद र देवघाट गाउँपालिका ३ तनहुँ जोड्ने सडक अन्तर्गत सेती नदिमा पुल निर्माण कार्य आरम्भको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।