पोखरा महानगरले गर्‍यो जहाज दुर्घटनामा परी दिवंगत भएकाहरुको सम्झनामा स्मृति सभा

जनसम्मत
माघ १३, २०७९, शुक्रबार

पोखरा महानगरपालिकाले माघको गत १ गते यति एयरलाइन्सको दुर्घटना परी ज्यान गुमाएकाहरुको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ।

दुर्घटना परी दिवंगत भएकाहरुको १३ औं पुण्य तिथि आज (माघ १३ गते, शुक्रबार) मा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी पुलको सेती खोंच नजिकै महानगरले श्रद्धाञ्जली सभा गरेको हो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताललगायतको सहभागिता थियो।

मुख्यमन्त्री अधिकारीले शोकलाई शक्तिमा बदल्दै अगाडी बढ्नुको विकल्प नहुने बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा भएको उक्त दुर्घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू गुमाउनु परेको उल्लेख गरे।

काठमाण्डौँबाट पोखराका लागि ५३ जना नेपाली र ५ भारतीय, ४ रसियन, १ आइरिस, १ अष्ट्रेलियन, १ अर्जेन्टिनी, २ कोरियन र १ फ्रान्सेली गरी १५ जना विदेशी तथा चालक दलका ४ सदस्यसहित उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी पुल नजिकैको सेतिखोँचमा अकल्पनीय दुर्घटना भएको थियो।

दुर्घटनामा परि विमानमा सवार ७२ जना कै ज्यान गएको थियो। ७१ जनाको शव फेला परेको भएपनि एक जना भने अझै बेपत्ता रहेका छन्। बेपत्ता ती यात्रुको खोजी कार्य भइरहेको छ।