शोकलाई शक्तिमा बदलौ: कानूनमन्त्री गाहामगर

जनसम्मत
माघ १३, २०७९, शुक्रबार

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवंगत पत्रकार त्रिभुवन पौडेल तथा संचारकर्मी अनिल शाहीको १३ औ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति बताएका हुन्।

मन्त्री गाहामगले दुर्घटनामा परी मृत्युभएका द्वय पत्रकारहरुको योगदानको उच्च मूल्यांकन गरि महासंघले उहाँहरुको योगदानलाई जीवन्त राख्नेगरी रचनात्मक काम गर्नुपर्ने धारणा राखे।

‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ, मन्त्री गाहामगरले भने, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्न यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ’’ मन्त्री गाहामगरले भने।

मन्त्री गाहामगले मिडिया क्षेत्र आफ्नो कार्य क्षेत्रभित्र पर्ने बताउँदै आगामी दिनमा मन्त्रालयको तर्फबाट मिल्ने सहयोग गर्ने उल्लेख गरे।

यसैगरी, पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यति एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताए।

बास्तोलाले पोखरेली पत्रकारद्वयको देहवसानले पत्रकारितामै ठूलो धक्का पुगेको धारणा राखे।

श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बस्ताकोटीलगायतले शोक वक्तव्य व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए।

सो कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा पक्रकारहरुले १३ औं पुण्य तिथिमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित दी प्रज्वलन गरे।

दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए।

यस्तै, संचारकर्मी अनिल शाही एपोस्टल एफएम संचालन गर्दै आएका थिए।

काठमाडौंबाट पोखरा आएको यति एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जनाको ज्यान गएको थियो।