टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी र एपीएफ फाइनलमा

जनसम्मत
माघ १३, २०७९, शुक्रबार

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र विभागीय सशस्त्र प्रहरी बलकामे एपीएफ क्लब उपाधिका लागि भिड्ने भएका छन्।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा भइरहेको ‘तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गर्दै आमने–सामने हुनेछन्।

आज (शुक्रबार) सम्पन्न सेमीफाइनलमा भारतीय खेलाडी सम्मिलित गण्डकीले विभागीय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनल पुग्न सफल बन्यो। गण्डकीले पहिलो सेटबाट दवावमा राखेको आर्मीलाई ३–० को सहज सेट जित्दै फाइनलमा पुगेको हो। पहिलो सेट २५–२३ ले जितेको गण्डकीले दोश्रो सेट समान २५–२३ र तेश्रो सेट २५–१६ ले जितेको हो। उक्त प्रतियोगितामा गण्डकीका विवस आले ‘म्यान अफ दि म्याच’ हुँदै ५ हजार नगद प्राप्त गरे। त्यस्तै, गण्डकीकै घनश्याम चौधरी ‘बेष्ट स्पाइकर’ बन्दै नगद ३ हजार बरावरको गिफ्ट ह्याम्पर प्राप्त गरे।

यसअघि,, प्रतियोगितामा नै अविजित रहेको सशस्त्र प्रहरी बलको एपीएफले नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको छ। एपीएफले पहिलो सेट २५–१० दोश्रो २५–२१ र तेश्रो २५–१८ ले जित्दै फाइनल पुगेको हो। उक्त खेलमा एपीएफका टेकराज अवस्थी ‘म्यान अफ दि म्याच’ घोषित भए भने विजय थापा ‘वेष्ट स्पाइकर’ घोषित हुँदै नगद र आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार पाए।

यस्तै, महिलातर्फको तेश्रो स्थानका लागि भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेश होङवान्जी न्यू डायमण्ड सँग ३–० को सोझो सेटमा पराजित हुन पुगेको छ। न्यू डायमण्डले २५–१९, २५–१६ र २५–१६ ले खेल जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ।

सिने अभेनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष उपस्थितिमा हुने पुरुषतर्फ फाइनल खेल दिउँसो २ बजे सुरु हुने टाइगर ग्रुपले जनाएको छ। त्यस्तै महिलातर्फ ११ बजे हुने फाइनलमा एपीएफ र नेपाल आर्मीबीच हुनेछ भने तेश्रो स्थानको पुरुषतर्फको खेल विहान ९ बजे हुनेछ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ। महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुले ५/५ लाख रुपैयाँ नगद, उपविजेता टिमले समान नगद २ लाख ५० हजार रुपैयाँ नगद, तेस्रो हुने टिमले नगद १ लाख २५ हजार रुपैयाँ र शान्त्वना हुने टिमले नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

त्यस्तै, महिला तथा पुरुषतर्फ उत्कृष्ट १/१ जना खेलाडीले जनही समान नगद २५/२५ हजार पुरस्कार पाउनेछन्। हरेक विद्याका उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर खेलाडी र प्रशिक्षकले समान १०/१० हजार रुपैयाँ र ट्रफीसहितको पुरस्कार पाउनेछन्।