घरेलु गण्डकी र एपीएफ टाइगर कप भलिबल च्याम्पियन

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशका रवि केसी र महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी बने

जनसम्मत
माघ १४, २०७९, शनिबार

घरेलु गण्डकी र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियन बनेका छन्।

पुरुषतर्फको उपाधि घरेलु गण्डकी प्रदेश र महिलातर्फको उपाधि विभागीय सशस्त्र प्रहरी बल एपीएफ क्लबले जित्दै च्याम्पियन बनेका हुन्।

योसँगै गण्डकीले दोस्रो पटक टाइगर कप भलिबलको उपाधि उचालेको हो। पहिलो संस्करणमा पनि गण्डकीले उपाधि उचालेको थियो।

गण्डकीले सशस्त्रको एपीएफ क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै दोस्रो पटक टाइगर कप भलिबलको उपाधि जित्यो। गण्डकीले आर्मीलाई १६–२५, २५–१८, २५–१९, २६–२८ र १५–८ ले हरायो।

गण्डकीले उपाधिसहित ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपीएफले २ लाख ५० हजार पुरस्कार हात पार्‍यो।

पुरुषतर्फ विभागीय नेपाल पुलिस क्लबले क्लबले त्रिभुवन आर्मीलाई हराउँदै नगद १ लाख २५ हजार प्राप्त गर्न सफल भयो।

त्यसै गरी आर्मीले सान्त्वना हुँदै नगद ६५ हजारसहित ट्रफी पुरस्कार हात पार्‍यो।

त्यस्तै, महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जित्यो। एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो।

टाइगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई २५–२०, २२–२५, २५–८ र २५–२२ को सेटमा हरायो।

एपीएफले पनि लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा गरेको हो। उसले गत वर्ष सम्पन्न दोस्रो संस्करणको उपाधि पनि जितेको थियो।

एपीएफले ५ लाख रुपैयाँ नगद राशीको पहिलो पुरस्कार जित्यो। आर्मीले २ लाख ५० हजारको पुरस्कार जित्यो।

महिलातर्फ न्यू डायमण्डले गण्डकी प्रदेशलाई हराउँदै तेस्रो बन्यो। उसले १ लाख २५ हजार र गण्डकीले सान्त्वना हुदै नगद ६५ हजारसहित ट्रफी पुरस्कार हात पार्‍यो।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशका रवि केसी र  सर्वोत्कृष्ट खेलाडी बने।

त्यस्तै महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी बने।

उनीहरुले समान २५/२५ हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार हात पारे।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका टेकराज अवस्थी उत्कृष्ट स्पाइकर, गण्डकीका नितिन उत्कृष्ट ब्लकर, गण्डककीकै विवस आले उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, गण्डकीका घनश्याम चौधरी उत्कृष्ट सर्भर बने।

त्यस्तै महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी प्रगतीनाथ उत्कृष्ट सेटर, आर्मीकी सरस्वती जैसी उत्कृष्ट लिबेरो, गण्डकीकी अरुणा शाही उत्कृष्ट सर्भर बने।

उनीहरुले समान १०/१० हजार रुपैयाँ नगद पुरस्कार र एक्स–टेप कम्पनीका १/१ जोर स्पोर्ट्स जुत्ता पुरस्कार पाए।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसद लिलाबहादुर थापा, प्रकाश बराललगायतले विजेता टिम तथा खेलाडीहरुलाई नगद, ट्रफी तथा पुरस्कार वितरण गरे।

सो अवसरमा सदस्य सचिव घिसिङले पूर्व महिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई भलिबल खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरे।

नवनिर्मित नेपाली चलचित्र ‘ह्यारी की प्यारी’का नायक तथा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह, गायक सपनकुमार राई कार्यक्रममा प्रमुख आकर्षण बनेका थिए। उनीहरुले कार्यक्रममा आ–आफ्ना प्रस्तुती समेत दिए।

तस्बीर: सुदर्शन रञ्जित/उमेस पुन